भजनी ३० वैशाख/कैलालीको भजनी नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८३ भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिताको समापन समारोह भजनी नगरपालिका नगर प्रमुख केवल चौधरीको सभाध्यक्षतामा सम्पन्न भएको हो।
समापन कार्यक्रममा नगर प्रमुख केवल चौधरीले खेलकुदले विद्यार्थीहरूको प्रतिभा पहिचान, अनुशासन र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै खेल क्षेत्रको विकासका लागि नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो थियो।
त्यसैगरी शिक्षा शाखा अधिकृत पंख बहादुर शाहले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालय तहबाटै खेल प्रतिभाको खोजी तथा विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको बताए। उनले यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता र प्रतिस्पर्धात्मक भावना विकास हुने उल्लेख गर्दै आगामी दिनमा अझ व्यवस्थित रूपमा कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।
प्रतियोगितामा नगरभित्रका विभिन्न विद्यालयका विद्यार्थी खेलाडीहरूले भलिबल, कबड्डी, दौड, हाईजम्प, लङजम्प लगायत विभिन्न खेल विधामा उत्साहजनक सहभागिता जनाएका थिए।उक्त प्रतियोगितामा कर्मेश्वर मावि कुटी १० स्वर्ण पदक २ रजत पदक र ३ कास्य पदक सहित प्राप्त गरी प्रथम भएको छ भने,महुन्याल मावि भजनीले ८ स्वर्ण पदक १२ रजत पदक र ३ कास्य पदक सहित दोस्रो स्थान हासिल गरेको छ त्यसैगरी राष्ट्रिय मा वि पल्टुपुरले,६ स्वर्ण पदक ५ रजत र ३ कास्य पदक प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेको छ। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा विद्यालयलाई ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो।कार्यक्रममा जनप्रतिनिधि, सुरक्षाकर्मी,सञ्चारकर्मी,शिक्षक, अभिभावक, खेलप्रेमी तथा स्थानीय वासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम सञ्चालन डम्मर मिश्रले गरेका थिए।
