जोशीपुर |कैलालीको जोशिपुर गाउँपालिकाका भोटेकोशीको विनाशकारी बाढीमा परी हालसम्म बेपत्ता रहेका ९ जनाका परिवारलाई भेटेर उनीहरूको अवस्था बुझिएको छ। रोजगारीका लागि रसुवा पुगेका उनीहरू बेपत्ता भएपछि परिवारले भोगिरहेको पीडा, आर्थिक संकट र बालबालिकाको भविष्यबारे बुझ्न विद्यार्थी अभियन्ता लोकेश जोशी प्रभावित परिवारको घरमै पुगेका हुन्।बेपत्ता हुनेहरूमा जोशिपुर गाउँपालिका वडा नम्बर २ का ७ जना, वडा नम्बर १ का १ जना र वडा नम्बर ३ का १ जना रहेका छन्। भौगोलिक रूपमा टाढा घटेको बाढीको घटनाले गाउँका परिवारमा गहिरो शोक र निराशा छाएको छ।
परिवारसँगको भेटघाटका क्रममा अधिकांशको आर्थिक अवस्था कमजोर रहेको र दैनिक छाक टार्नसमेत कठिनाइ भइरहेको पाइएको जोशीले बताएका छन्। बेपत्ता भएका अधिकांश युवा ३४ वर्षमुनिका रहेको र उनीहरूका परिवारमा विद्यालय जाने उमेरका बालबालिका रहेको उनले उल्लेख गरेका छन्।
भेटघाटका क्रममा एउटा परिवारको अवस्था झनै हृदयविदारक देखिएको थियो। दुई वर्षअघि आमाको मृत्यु भएपछि अहिले बुवा पनि बाढीमा परी बेपत्ता हुँदा पाँच वर्षीय बालक अभिभावकविहीन बनेका छन्। भेटका क्रममा एक आमाले चौधरी भाषामा भावुक हुँदै आफ्नो छोरा फर्केर आउँछ कि आउँदैन भनेर प्रश्न गरेकी थिइन्। उनको त्यो पीडादायी प्रश्नले उपस्थित सबैलाई भावुक बनाएको जोशीले बताएका छन्।जोशीसँगै जोशिपुर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष विष्णु प्रसाद डङ्गौरा र वडा नम्बर ३ का अध्यक्ष रेनु कुमारी डङ्गौरालगायतले प्रभावित परिवारसँग भेट गरी उनीहरूको दुःख–पीडा सुनेका थिए।
भेटघाटका क्रममा स्थानीय जनप्रतिनिधिबाहेक केन्द्र र प्रदेश सरकारका अधिकारीहरू प्रभावित परिवारसम्म नपुगेको जानकारी प्राप्त भएको जोशीले बताएका छन्। विपत्तिबाट प्रभावित परिवारलाई राहत, आर्थिक सहयोग र न्यायको अनुभूति गराउन सम्बन्धित सरकार गम्भीर र जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ।विद्यार्थी अभियन्ता जोशीले प्रभावित परिवारका बालबालिकाको शिक्षादीक्षाका लागि आगामी आर्थिक वर्षमा आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, प्रभावित परिवारका सदस्यलाई रोजगारी तथा आयआर्जनका अवसरसँग जोड्न स्थानीय सरकारलाई सुझाव दिएको उनले बताएका छन्। यस विषयमा गाउँपालिका अध्यक्ष, वडा अध्यक्षहरू तथा प्रमुख प्रशासकीय अधिकृतबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको उनको भनाइ छ।
तत्कालीन राहतस्वरूप जोशीको पहलमा सञ्चालन भइरहेको ‘कपडा बैंक’ मार्फत काठमाडौँबाट प्रभावित परिवारलाई आवश्यक न्यानो कपडा उपलब्ध गराउने तयारीसमेत गरिएको छ।जोशीले विपत्तिमा परेका परिवारलाई सहयोग गर्नु मानवीय दायित्व भएको उल्लेख गर्दै प्रभावित परिवारलाई आगामी दिनमा पनि साथ र सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
पीडित परिवारसँगको भेटघाट तथा सहजीकरणमा सहयोग पुर्याउने वडा अध्यक्ष रामचन्द्र चौधरी, विष्णु प्रसाद डङ्गौरा र रेनु कुमारी डङ्गौरालाई धन्यवाद दिँदै उनले विपत्तिका बेला प्रभावित नागरिकको आँसु पुछ्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन्।