साझा अक्षर

राष्ट्रपति रनिङशिल्डमा भजनीको ऐतिहासिक सुरुवात, प्रतिका कठरियाद्वारा स्वर्ण पदक जित

अमृत केसी/कैलाली जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन चरणमै भजनी नगरपालिकाले ऐतिहासिक सफलता हासिल गरेको छ । विगतका वर्षहरूमा अपेक्षाकृत कमजोर प्रदर्शन गर्दै आएको भजनीले यस वर्ष भने सुरुवातदेखि नै उत्कृष्ट खेल प्रदर्शन गर्दै सबैको ध्यान आकर्षित गरेको छ।

प्रतियोगिताको पहिलो दिन सम्पन्न हाईजम्प प्रतियोगितामा भजनी नगरपालिकाकी छात्रा प्रतिका कठरियाले शानदार प्रदर्शन गर्दै स्वर्ण पदक जितेकी हुन्। उनको उत्कृष्ट प्रदर्शनसँगै भजनी नगरपालिकाले प्रतियोगितामा पहिलो ठूलो सफलता हात पार्दै स्वर्ण पदक आफ्नो नाममा लेखाउन सफल भएकी हुन् ।

प्रतिका कठरियाको स्वर्ण पदकसँगै भजनी नगरपालिकाको टोलीमा उत्साह छाएको छ । खेल मैदानमा उनले देखाएको आत्मविश्वास, मेहनत र उत्कृष्ट प्रदर्शनले भजनी नगरपालिकाको खेल इतिहासमा नयाँ अध्याय थपेको प्रशिक्षक तथा खेलप्रेमीहरूको भनाइ छ ।

त्यसैगरी, समूहगत खेलतर्फ पनि भजनीले उत्साहजनक सुरुवात गरेको छ । आज सम्पन्न पहिलो चरणको छात्रा कबड्डी प्रतियोगितामा भजनीले प्रभावशाली उत्कृष्ट खेल प्रदर्शन गर्दै सुरुवाती जित हासिल गरेको छ । यस्तै छात्रतर्फको भलिबल खेलमा पनि भजनी नगरपालिकाले शानदार जित निकाल्दै प्रतियोगितामा आफ्नो बलियो उपस्थिति जनाएको छ ।

एकल तथा समूहगत दुवै खेलमा प्राप्त लगातार सफलताले यस वर्षको राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा भजनी नगरपालिका नयाँ ऊर्जा र आत्मविश्वासका साथ मैदानमा उत्रिएको संकेत गरेको छ । पहिलो दिनकै प्रदर्शनले खेलाडी, प्रशिक्षक तथा समर्थकहरूमा थप आशा र उत्साह बढाएको छ ।

भजनी नगरपालिकाका शिक्षा शाखा अधिकृत पंख बहादुर शाहका अनुसार यस वर्ष खेलाडीहरूले मेहनत, अनुशासन र आत्मविश्वासका साथ उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । आगामी खेलहरूमा पनि भजनीले थप सफलता हासिल गर्ने अपेक्षा गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *