Skip to main content

Bhajani Today

दूषित मह बेच्ने १६ जनाविरुद्ध मुद्दा दर्ता

भजनी, पौष १० खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले दूषित मह बेच्ने १६ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । मुद्दा दर्ता भएकाहरू राधे धामीसमेत गरी १५ जना र एक जना टीकापुर नगरपालिका वडा नं. १ गरी १६ जना छन्‌ ।

२०८१ मंसिर १६ न्यूनस्तरको मह बिक्री गरेको भन्ने सूचनाका आधारमा प्रहरीले टीकापुर नगरपालिका वडा नं. १, बसपार्कस्थित आँधीखोला होटेल र न्यु मङ्गलासैनी होटेलबाट ९४७ किलोग्राम मह र घारसहित १६ जनालाई पक्राउ गरेको थियो ।

मह विक्रेताले मरेका मौरी, मौरीको घार र मह अलग अलग भाँडामा राखेको अवस्थामा फेला परेका थिए । मरेका मौरी र सुकेको घार अलग अलग बाल्टीमा र मह प्लास्टिकका झोलामा राखेका थिए । उनीहरूले बिक्री गर्न लैजाँदा मह, महको घार र मरेका मौरी एउटै भाँडोमा मिसाएर बेच्ने गरेका थिए ।

खाद्य अनुसन्धान अधिकृत सुमन लामिछानेको अनुसार बरामद गरिएको महको विश्लेषण प्रतिवेदन नेपाल सरकारद्वारा महका लागि तोकिएको अनिवार्य गुणस्तर अनुरूप नपाइएको र त्यसमा पनि फ्रुकटोज ग्लुकोज अनुपात तोकिएको अनिवार्य गुणस्तरभन्दा कम, पानीमा नघुल्ने ठोस पदार्थ तोकिएको अनिवार्य गुणस्तरभन्दा बढी र हाइड्रोक्सी मिथाइल फरफुरल (एचएमएफ) तोकिएको अनिवार्य गुणस्तरभन्दा बढी भएकाले दूषित प्रमाणित भएको हो ।

मह विक्रेतालाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार दूषित खाद्य पदार्थ उत्पादन तथा बिक्रीवितरण गरेको कसुरको मुद्दा पुस ५ गते जिल्ला अदालत कैलालीमा दायर गरिएको अनुसन्धान अधिकारी लामिछानेले बताउनुभयो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढी कैलालीकी खाद्य निरीक्षण अधिकारी सिर्जना चौधरीले सो महको नमुना सङ्कलन गरी अनुसन्धान गर्दा दूषित खाद्य पदार्थ प्रमाणित भएकाले मुद्दा दायर गरिएको हो ।

दुषित पदार्थ बिक्रीबापत एक वर्ष जेल वा चार लाख जरिबाना वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले यस आर्थिक वर्षमा दुई वटा दूषित महसम्बन्धी, दुई वटा लेबल विवरण नराखेका, अनुमति नलिएका चाउमिन, किसमिस, डेरी र एउटा गुणस्तरहीन ह्विस्कीसम्बन्धी मुद्दा दर्ता गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *