भजनी/कैलालीको भजनी नगरपालिका र इलाका प्रहरी कार्यालय भजनीको सहकार्यमा रात्रिकालीन सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक छेउछाउमा रहेका रुखहरूमा रिफ्लेक्टिभ स्टिकर जडान गर्ने अभियान सुरु गरिएको छ।
अभियानको सुरुवात भजनी नगरपालिका वडा नं. ४ बाट गरिएको हो। रातिको समयमा सडक किनारमा रहेका रुख तथा अन्य अवरोधहरू स्पष्ट रूपमा देखिन नसक्दा हुन सक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले रिफ्लेक्टिभ स्टिकर जडान गरिएको प्रमुख प्रशासकीय अधिकृत भोज राज भट्टले बताउनु भयो।
सवारी साधनको हेडलाइट पर्दा रिफ्लेक्टिभ स्टिकर टल्किने भएकाले चालकलाई सडकको अवस्था तथा सडक किनारका रुखहरू पहिचान गर्न सहज हुने र यसबाट रात्रिकालीन यात्रालाई थप सुरक्षित बनाउने उद्देश्यले उक्त कार्यको सुरुवात गरिएको प्रमुख प्रशासकीय अधिकृत भट्टले बताउनु भयो।भजनी नगरपालिका र इलाका प्रहरी कार्यालय भजनीले सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणका लागि आगामी दिनमा अन्य स्थानहरूमा समेत यस्ता सुरक्षा सम्बन्धी कार्यक्रम विस्तार गर्दै लैजाने इलाका प्रहरी कार्यालय भजनी प्रमुख खकेन्द्र सिंह साउदले बताउनु भयो।