दुर्गाैली, पौष ११ – जानकी गाउँपालिकालाई “थारु लोक कलाको हव” बनाउने योजना अन्तर्गत आज एक महत्वपूर्ण छलफल सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष गणेश चौधरीको अध्यक्षतामा आयोजित छलफल कार्यक्रममा प्र.प्र.अ. सहित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव देवेन्द्रप्रसाद काफ्ले ‘थुम्केली’, प्राज्ञपरिषद्का सदस्यहरू पाल्साङ्मो लामा, प्रदिप अधिकारी, र सौरगंगा दर्शनधारीले पनि सहभागिता जनाए।
कार्यक्रममा थारु समुदायको मौलिक संस्कृति, लोक कला र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्दै जानकी गाउँपालिकालाई सांस्कृतिक केन्द्रका रूपमा विकास गर्ने विषयमा गहन छलफल गरियो। सहभागीहरूले थारु कलाको पहिचानलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा पुर्याउन योजनाबद्ध रूपमा अघि बढ्नुपर्नेमा जोड दिए।
गाउँपालिका अध्यक्ष चौधरीले थारु कलाको संरक्षण र प्रवर्द्धनमार्फत स्थानीय स्तरमा पर्यटन विकास गर्न सकिने विश्वास व्यक्त गरे। सदस्य–सचिव काफ्लेले यो परियोजनाले थारु समुदायको संस्कृति र कलालाई आर्थिक रूपले पनि सशक्त बनाउन मद्दत गर्ने बताए।

कार्यक्रममा स्थानीय स्तरमा थारु कलाका प्रतिष्ठानहरू स्थापना, कला प्रदर्शनीका लागि विशेष कार्यक्रम, तथा सांस्कृतिक प्रशिक्षणका लागि आवश्यक संरचनाहरू निर्माण गर्नेबारे समझदारी कायम गरिएको छ।
थारु लोक कलालाई संरक्षण र प्रवर्द्धन गर्ने यो अभियानको सफलताले समग्र प्रदेशमा सांस्कृतिक र आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।