साझा अक्षर

पोषण परियोजनाका गतिविधिको पालिका स्तरीय अनुगमन सम्पन्न

भजनी, कैलाली । केयर नेपाल र आइडिइ नेपालको आर्थिक सहयोग तथा याक नेपालद्वारा सञ्चालित पोषण परियोजनाअन्तर्गत भजनी नगरपालिकामा सञ्चालन भएका विभिन्न गतिविधिहरूको पालिका स्तरीय सल्लाहकार समितिद्वारा अनुगमन गरिएको छ।अनुगमन टोलीले परियोजनामार्फत सञ्चालित पोषण सुधार, समुदायस्तरीय जनचेतना अभिवृद्धि, बाल तथा मातृ पोषण प्रवर्द्धन, सरसफाइ तथा व्यवहार परिवर्तनसम्बन्धी कार्यक्रमहरूको स्थलगत अवलोकन गरेको थियो। अनुगमनपछि बोल्दै नगर उपप्रमुख राजु तिरुवा ले परियोजनाले लक्षित समुदायमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै आगामी दिनमा कार्यक्रमहरूलाई अझ प्रभावकारी र दिगो बनाउन स्थानीय सरकार, सरोकारवाला निकाय तथा समुदायबीचको समन्वय थप सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो।

स्वास्थ्य शाखा प्रमुख कैलाश थारु का अनुसार परियोजनाले विशेषगरी महिला, बालबालिका तथा विपन्न समुदायको पोषण अवस्थामा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ। अनुगमनका क्रममा पोषणसम्बन्धी जनचेतना वृद्धि, गर्भवती तथा सुत्केरी महिलाको पोषण अवस्थामा सुधार, बालबालिकाको वृद्धि अनुगमन तथा पोषणमैत्री व्यवहार प्रवर्द्धनमा उल्लेखनीय प्रगति देखिएको समितिले जनाएको छ।

परियोजनाअन्तर्गत हालसम्म २ हजार ३ सय ९९ बालबालिका तथा ७६ गर्भवती/सुत्केरी महिलाको पोषण परीक्षण गरिएको छ। परीक्षणका क्रममा २१ बालबालिका र ४ महिलामा गम्भीर कुपोषण, तथा १८३ बालबालिका र २० महिलामा मध्यम कुपोषण भेटिएको जानकारी दिइएको छ। कुपोषित बालबालिका तथा महिलालाई आवश्यक पोषण सामग्री, स्वास्थ्य परामर्श तथा नियमित अनुगमन सेवा प्रदान गरिएको परियोजनाले जनाएको छ।

परियोजनाले पोषण तथा खाद्य सुरक्षामा सुधारका लागि कृषि तथा जीविकोपार्जनसँग जोडिएका विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गरेको छ। यसअन्तर्गत २५ जना अगुवा कृषकलाई चार दिने पोषण बगैचा निर्माण तालिम प्रदान गरिएको छ भने प्रत्येक कृषकलाई किसान कार्डमार्फत २० हजार रुपैयाँ उपलब्ध गराइएको छ।

त्यस्तै, ४७६ जना आमाहरूलाई पोषण बगैचा निर्माणका लागि प्रतिव्यक्ति ४ हजार रुपैयाँ, १२५ जना नयाँ हजार दिनका महिलालाई प्रतिव्यक्ति ५ हजार ५ सय रुपैयाँ तथा किसान कार्ड नभएका १०० जना महिलालाई प्रतिव्यक्ति १ हजार ६ सय ५० रुपैयाँ बराबरको बिउबिजन वितरण गरिएको परियोजना संयोजक रमन जोशीले बताउनुभयो।

कडा शिघ्र कुपोषण भएका बालबालिकाका परिवारलाई २ हजार ५ सय रुपैयाँ बराबरका कृषि सामग्री, १० परिवारलाई ४० हजार रुपैयाँ बराबरको कुखुरा पालन सहयोग, तथा १६ जना कडा तथा मध्यम शिघ्र कुपोषित बालबालिकाका परिवारलाई खानेपानी, सरसफाइ तथा स्वच्छताका लागि फिल्टर वितरण गरिएको छ।आर्थिक सशक्तीकरण र उद्यम विकासलाई प्रोत्साहन गर्न परियोजनाले अचार उत्पादनका लागि सोलार ड्रायर, जुस पेल्ने मेसिन तथा विभिन्न कृषि सामग्रीहरू उपलब्ध गराएको छ। साथै पोषण लेखाजोखा व्यवस्थापन तथा बहिरंग उपचार केन्द्रको सुदृढीकरणका लागि ७ थान सेका स्केल समेत वितरण गरिएको छ।

परियोजनाले जलवायु मैत्री कृषि प्रविधिको प्रवर्द्धन गर्दै गड्यौला मल उत्पादन तथा पोषणमैत्री खेती प्रणालीलाई विशेष प्राथमिकता दिएको जनाएको छ।अनुगमन कार्यक्रममा भजनी नगरपालिकाका विषयगत शाखा प्रमुखहरू, याक नेपालका प्रतिनिधि, स्वास्थ्य तथा पोषण क्षेत्रका सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बैठकमा कुपोषण न्यूनीकरण, गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार तथा पोषण तथा खाद्य सुरक्षामा सुधारका लागि स्थानीय सरकार, स्वास्थ्य संस्था र समुदायबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *