भजनी, कैलाली। लैङ्गिकताका आधारमा हुने सबै प्रकारका हिंसा न्यूनीकरण तथा प्रभावित केन्द्रित अवधारणासम्बन्धी एकदिने छलफल कार्यक्रम सम्पन्न भएको छ।DWRF Nepal को आयोजनामा सञ्चालन गरिएको कार्यक्रममा साइबर केन्द्रित दृष्टिकोण, विशेषगरी लैङ्गिक हिंसासम्बन्धी विषयमा छलफल गरिएको थियो। कार्यक्रममा लैङ्गिक हिंसाका विभिन्न स्वरूप, हिंसाबाट प्रभावित व्यक्तिको अवस्था तथा उनीहरूलाई केन्द्रमा राखेर गरिने सहयोग र सम्बोधनका विषयमा विचारविमर्श गरिएको थियो।
सावित्रा घिमिरेको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरी, उपप्रमुख राजु तिरुवा, प्रमुख प्रशासकीय अधिकृत भोज राज भट्ट, न्यायिक समितिका सदस्य राजेन्द्र खनाल, ईलाका प्रहरी कार्यालय भजनी प्रमुख खगेन्द्र साउद,विषयगत शाखा प्रमुख, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा पुरुष अगुवालगायतको सहभागिता रहेको थियो।कार्यक्रममा DWRF Nepal की सदस्य इन्दिरा दानपालीले स्वागत मन्तव्य राखेकी थिइन्। त्यस्तै, DWRF Nepal की कार्यक्रम संयोजक सिर्जना पराजुलीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेकी थिइन् भने संस्थाकी सामाजिक परिचालक लक्ष्मी बिकले पनि कार्यक्रममा सहजीकरण तथा विषयवस्तुसम्बन्धी जानकारी प्रस्तुत गरेकी थिइन्।
कार्यक्रममा लैङ्गिकताका आधारमा हुने हिंसालाई सम्बोधन गर्न सम्बन्धित निकाय, संघसंस्था तथा समुदायबीच सहकार्य आवश्यक रहेको विषयमा छलफल गरिएको थियो। साथै, हिंसाबाट प्रभावित व्यक्तिको आवश्यकता, सुरक्षा र अधिकारलाई प्राथमिकतामा राखेर सहयोग गर्ने अवधारणामाथि जोड दिइएको थियो।कार्यक्रमले लैङ्गिक हिंसाविरुद्ध सचेतना अभिवृद्धि गर्नुका साथै प्रभावित व्यक्तिप्रति संवेदनशील र जिम्मेवार व्यवहार विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।