साझा अक्षर

सोनाफाँटामा बाढीसम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न, समुदायलाई विपद् पूर्वतयारीबारे प्रशिक्षण

भजनी, कैलाली। कैलालीको भजनी नगरपालिका–८ सोनाफाँटामा बाढीजन्य विपद् न्यूनीकरण तथा पूर्वतयारीका लागि बाढीसम्बन्धी कृत्रिम घटना अभ्यास (Mock Drill) कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाद्वारा सञ्चालित ईकोल्याब (ECOLAB) परियोजना अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो।

वडा सदस्य लल्टु चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भजनी नगरपालिकाका विपद् शाखा फोकल व्यक्ति विष्णु प्रसाद न्यौपाने, नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका निवर्तमान सभापति बासु विनाडी नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका शाखा विकास अधिकृत नरेन्द्र भट्ट , च्याम्पियन र सिडिसीसीसी तथा ईकोल्याब परियोजनाका कार्यक्रम अधिकृत लोटन चौधरीको आतिथ्यता रहेको थियो। कार्यक्रममा समुदायका बढघर, चिराकी,सुरक्षाकर्मी, विपद् व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा बाढी आउनुअघि गरिने पूर्वतयारी, सुरक्षित स्थानको पहिचान, उद्धार तथा राहत व्यवस्थापन, बाढीपछिको पुनःस्थापना तथा जोखिम न्यूनीकरणका उपायबारे व्यावहारिक अभ्यास गरिएको थियो। पूर्वसूचना कार्यदल, खोज तथा उद्धार कार्यदल, प्राथमिक उपचार कार्यदल तथा जोखिम लेखाजोखा कार्यदलले आ–आफ्नो जिम्मेवारीअनुसार प्रदर्शन गर्दै विपद्को समयमा अपनाउनुपर्ने प्रक्रिया प्रस्तुत गरेका थिए।

अभ्यासका क्रममा वर्षायाममा आउन सक्ने बाढीजन्य जोखिमलाई मध्यनजर गर्दै आवश्यक कागजात, सुख्खा खाना तथा आपतकालीन झोला (Emergency Bag) तयारी अवस्थामा राख्ने, साथै बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी तथा अपाङ्गता भएका व्यक्तिहरूलाई सुरक्षित स्थानमा कसरी स्थानान्तरण गर्ने भन्ने विषयमा समेत व्यवहारिक प्रशिक्षण दिइएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै भजनी नगरपालिकाका विपद् फोकल व्यक्ति विष्णु प्रसाद न्यौपानेले जोखिमयुक्त बस्तीहरूमा यस्ता अभ्यास नियमित रूपमा सञ्चालन गरिनुपर्ने आवश्यकता औँल्याए। उनले विपद् आउनुअघि नै समुदायलाई तयार बनाउन सके क्षति न्यूनीकरण गर्न सहज हुने बताए।सहभागी कृष्णा चौधरीले प्रत्येक वर्ष बाढीको समस्या भोग्दै आएको आफ्नो समुदायका लागि यस्ता पूर्वतयारीमूलक अभ्यास अत्यन्तै उपयोगी र प्रभावकारी हुने विश्वास व्यक्त गरिन्।

त्यसैगरी, नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका कार्यक्रम अधिकृत लोटन चौधरीले कृत्रिम घटना अभ्यासले समुदायको विपद् व्यवस्थापन क्षमता अभिवृद्धि गर्ने बताउँदै विपद्को समयमा रेडक्रस सधैं समुदायको साथमा रहने उल्लेख गरे। उनले ईकोल्याब परियोजनामार्फत समुदायका लाभग्राहीहरूले पशुपालन तथा अन्य आयआर्जनमूलक गतिविधि सञ्चालन गरिरहेको जानकारी समेत दिए।

कार्यक्रमका सहजकर्ता मुकेश गौतमले सबै कार्यदलले प्रभावकारी रूपमा अभ्यास सम्पन्न गरेको भन्दै वास्तविक विपद्को अवस्थामा पनि सिकाइअनुसार सक्रिय र समन्वयात्मक रूपमा कार्य गर्नुपर्नेमा जोड दिए।कार्यक्रममा सहभागीहरूले विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी, समुदायको सक्रियता र विभिन्न निकायबीचको समन्वयलाई अझ सुदृढ बनाउन यस्ता अभ्यासहरू प्रभावकारी हुने निवर्तमान सभापति बिनाडी बताउनु भयो।

स्थानीय तह, रेडक्रस र समुदायबीचको सहकार्यमा सम्पन्न उक्त अभ्यासले सोनाफाँटाका बासिन्दाहरूलाई बाढीजन्य विपद्को सामना गर्न थप सक्षम र सचेत बनाएको सहभागीहरूले बताएका छन्।कार्यक्रमको सहजीकरण सामाजिक परिचालक जेनिथ शाहले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *