टीकापुर, कैलाली।कैलालीको टीकापुर नगरपालिका तथा आसपासका क्षेत्रमा चोरीका घटना बढ्दै गएको भन्दै टीकापुर सचेत समाजले चोरी नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न इलाका प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालय टीकापुरको ध्यानाकर्षण गराएको छ।समाजले सम्बन्धित निकायलाई ध्यानाकर्षणपत्र बुझाउँदै पछिल्लो समय घर, पसल, व्यावसायिक प्रतिष्ठान तथा सर्वसाधारणका धनमाल चोरी हुने घटनाले स्थानीय नागरिकमा त्रास र असुरक्षाको भावना बढ्दै गएको जनाएको छ।चोरीका घटनाले नागरिकको सम्पत्तिमा क्षति पुर्याउनुका साथै स्थानीय व्यापार–व्यवसाय, सामाजिक सद्भाव र दैनिक जनजीवनमा समेत नकारात्मक असर पारेको समाजको भनाइ छ।समाजले टीकापुर क्षेत्रमा हालसम्म भएका चोरीका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन, चोरी हुन सक्ने संवेदनशील क्षेत्रको पहिचान गरी प्रहरी गस्ती बढाउन तथा बजार, व्यापारिक केन्द्र र आवासीय बस्तीमा नियमित निगरानीको व्यवस्था गर्न माग गरेको छ।
त्यसैगरी, चोरीसम्बन्धी उजुरी दर्ता, अनुसन्धान तथा पीडितलाई जानकारी दिने प्रक्रियालाई सहज, प्रभावकारी र जवाफदेही बनाउनुपर्नेमा समाजले जोड दिएको छ।समाजले चोरी नियन्त्रणका लागि सम्बन्धित निकायबाट भएका प्रयास तथा उपलब्धिको नियमित समीक्षा गर्दै नागरिकलाई आवश्यक सूचना उपलब्ध गराउन र ‘प्रहरी हाम्रो साथी’ भन्ने नारालाई व्यवहारमा प्रभावकारी बनाउनसमेत आग्रह गरेको छ।टीकापुर सचेत समाजका अध्यक्ष मकर बहादुर के.सी. र सचिव छवि राज उपाध्यायद्वारा हस्ताक्षरित ध्यानाकर्षणपत्रमा नागरिकको जीउधनको सुरक्षा, शान्तिपूर्ण सामाजिक वातावरण र कानुनी शासनको प्रत्याभूतिका लागि सम्बन्धित प्रशासन, प्रहरी तथा सरोकारवाला निकायबीच समन्वय गरी चोरीका घटना रोकथाम तथा नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न माग गरिएको छ।
टीकापुर सचेत समाजद्वारा चोरीका घटना नियन्त्रणको माग गर्दै इलाका प्रशासन र इलाका प्रहरी कार्यालयको ध्यानाकर्षण