Skip to main content

Bhajani Today

भजनीमा ब्राउन सुगरसहित टीकापुर अस्पतालका अहेबसहित ३ जना पक्राउ

खेम राज पाण्डेय, भजनी, कैलाली । कैलालीको भजनी नगरपालिका–३ कुसुमघाटबाट ब्राउन सुगर जस्तो देखिने लागूऔषधसहित टीकापुर अस्पतालमा कार्यरत अहेबसहित तीन जना पक्राउ परेका छन्।

भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिहरूलाई शंका लागेर चेकजाँच गर्ने क्रममा साँफेबगर नगरपालिका–१० का ३० वर्षीय अनिल भुल, भजनी नगरपालिका–८ का ३२ वर्षीय देवेन्द्र शाही र घोडाघोडी नगरपालिका–२ साडेपानीका ३७ वर्षीय कृष्ण चौधरी पक्राउ परेका हुन्।सशस्त्र प्रहरी बल, नेपाल बीओपी कुसुमघाटका अनुसार उनीहरूको साथबाट लुकाइराखेको अवस्थामा ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ तथा से ६ प ३६६२ र भे ३ प ९४८४ नम्बरका दुई वटा मोटरसाइकल बरामद गरिएको छ।

विज्ञापन

इलाका प्रहरी कार्यालय भजनीले सार्वजनिक गरेको विवरणअनुसार घोडाघोडी नगरपालिका–२ का कृष्ण चौधरीको साथबाट ५१० मिलिग्राम तथा अनिल भुल र देवेन्द्र शाहीको साथबाट ७५० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद भएको छ।पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय भजनीमा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल बीओपी कुसुमघाटका सशस्त्र प्रहरी निरीक्षक देवेन्द्र नाथले जानकारी दिनुभयो। इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक खकेन्द्र बहादुर साउदका अनुसार उनीहरूमाथि लागूऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अघि बढाइएको छ।

पक्राउ परेका अनिल भुल टीकापुर अस्पतालमा करारमा कार्यरत अहेब रहेको खुलेको प्रहरीले जनाएको छ। स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी नै लागूऔषधसहित पक्राउ परेको घटनाले स्वास्थ्यकर्मीको आचरण, जिम्मेवारी र अनुशासनमाथि समेत प्रश्न उठाएको छ। बिरामीको उपचार तथा स्वास्थ्य सुरक्षासँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्रमा कार्यरत कर्मचारीबाट उच्च स्तरको जिम्मेवारी र व्यावसायिक अनुशासन अपेक्षित हुने भएकाले घटनालाई गम्भीर रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *