भजनी । कैलालीको भजनी नगरपालिका–५ पगियाप्रसार क्षेत्रमा नदी कटानको जोखिम बढेपछि स्थानीयवासी, जनप्रतिनिधि र सशस्त्र प्रहरी जोखिम रोकथामका लागि श्रमदानमा जुटेका छन् ।वर्षायाममा नदीको बहाव बढेसँगै कटानको जोखिम उच्च बनेपछि सम्भावित क्षति न्यूनीकरणका लागि स्थानीयस्तरमै रोकथामका काम अघि बढाइएको हो । नदी कटानले बस्ती, खेतीयोग्य जमिन तथा भौतिक संरचनामा क्षति पुर्याउन सक्ने भन्दै स्थानीयमा त्रास बढेको छ ।वि.ओ.पी. कालापाताल र वि.ओ.पी. पगियाप्रसारको नेतृत्वमा सञ्चालन गरिएको श्रमदान अभियानमा भजनी नगरपालिका–५ का वडा अध्यक्ष केशवबहादुर बुढासहित सशस्त्र प्रहरीका सुरक्षाकर्मी र स्थानीयवासी सहभागी भएका थिए । उनीहरूले नदी कटानको उच्च जोखिम रहेका स्थानमा तत्काल आवश्यक रोकथामका तथा भजनी नगरपालिकाद्वारा चेक ड्याम निर्माणको कार्य भइरहेको छ।
स्थानीयस्तरमा उपलब्ध स्रोतसाधनको प्रयोग गर्दै तत्कालका लागि नदी कटानको जोखिम कम गर्ने प्रयास गरिएको हो । नदीको बहाव बढ्दै जाँदा कटान थप तीव्र हुनसक्ने भएकाले समयमै रोकथामका काम थालिएको स्थानीयले बताएका छन् ।स्थानीयवासीका अनुसार पगियाप्रसार क्षेत्रमा वर्षेनी नदी कटानको समस्या दोहोरिँदै आएको छ । तत्कालका लागि श्रमदानमार्फत जोखिम कम गर्ने प्रयास गरिए पनि समस्या दीर्घकालीन रूपमा समाधान गर्न स्थायी तटबन्ध तथा नदी संरक्षणका कार्यक्रम आवश्यक रहेको उनीहरूको भनाइ छ । नदी कटानका कारण स्थानीयवासीमा त्रास बढेको छ ।