Skip to main content

Bhajani Today

भजनीमा पोषण लेखाजोखा तथा व्यवस्थापन कार्यक्रम सम्बन्धी अभिमुखीकरण

भजनी, कैलाली । भजनी नगरपालिकाको आयोजनामा तथा याक नेपालको प्राविधिक सहयोगमा पोषण लेखाजोखा तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत पालिकास्तरीय समन्वय अभिमुखीकरण तथा तयारी बैठक सम्पन्न भएको छ। कार्यक्रम भजनी नगरपालिका नगर प्रमुख केवल चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा भजनी नगरपालिका उप राजु तिरूवा,भजनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोज राज भट्ट, भजनी नगरपालिका वडा नं. १ देखि ९ सम्मका वडा अध्यक्षहरू तथा नगरपालिकाअन्तर्गतका स्वास्थ्य संस्थाका प्रमुखलगायतको सहभागिता रहेको थियो।कार्यक्रममा पोषण लेखाजोखा (Nutritional Assessment) अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय तहको तयारी, समन्वय तथा सरोकारवालाहरूको सक्रिय सहभागिता सुदृढ गर्ने विषयमा छलफल गरिएको थियो। साथै, पहिचान भएका कडा तथा मध्यम शीघ्र कुपोषण भएका बालबालिकाको समयमै व्यवस्थापन तथा प्रेषण प्रणालीलाई प्रभावकारी बनाउने विषयमा जोड दिइएको थियो।

त्यस्तै, नेपाल सरकारको IMAM प्रोटोकल तथा पोषणसम्बन्धी सेवाहरूको कार्यान्वयनबारे साझा बुझाइ विकास गर्ने, पोषण लेखाजोखा अभियानका लागि स्पष्ट कार्ययोजना तथा कार्यविधि तयार गर्ने र समुदायस्तरमा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा समेत छलफल भएको थियो।कार्यक्रममा पोषण लेखाजोखा तथा व्यवस्थापन कार्यक्रमको तयारी, उचाइअनुसारको तौल (Z स्कोर), सुनिएको तह तथा पाखुराको मध्य भागको परिधिको मापन (MUAC) विधिबाट बालबालिकाको पोषण अवस्था परीक्षण, तथ्यांक व्यवस्थापन तथा प्रमाणीकरणलगायतका विषयमा जानकारी गराइएको थियो।

कार्यक्रमको सहजीकरण याक नेपालका परियोजना संयोजक रमन जोशी र भजनी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख कैलाश थारु डगौरा, स्वास्थ्य कार्यालय कैलाली पोषण फोकल पर्सन रमा गिरीले गर्नुभएको थियो।बैठकले भजनी नगरपालिकामा कुपोषणको अवस्था पहिचान, समयमै व्यवस्थापन तथा पोषणसम्बन्धी सेवामा पहुँच विस्तार गर्न स्थानीय तह, वडा तथा स्वास्थ्य संस्थाबीच आवश्यक समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *