भजनी /कैलालीको भजनी नगरपालिकामा गेटा आँखा अस्पतालले विगत केही वर्षदेखि सटर भाडामा लिएर सञ्चालन गर्दै आएको आँखा उपचार सेवा अब भजनी प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवनबाट प्रदान गरिने भएको छ।भजनी नगरपालिका, गेटा आँखा अस्पताल र भजनी प्राथमिक स्वास्थ्य केन्द्रबीचको आपसी समन्वय तथा समझदारीपछि प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा प्रयोगमा नआएको भवनलाई आँखा उपचार सेवाका लागि प्रयोग गर्ने निर्णय गरिएको हो।
भजनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टको पहल तथा स्थानीय सरकारको कार्यपालिका निर्णयपछि नयाँ भवनबाट सेवा सञ्चालनमा ल्याए ।नयाँ भवनबाट गेटा आँखा अस्पतालको सेवा सञ्चालनको उद्घाटन गेटा आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले रिबन काटेर गरे ।
कार्यक्रममा भजनी नगरपालिकाका प्रमुख केवल चौधरी प्रमुख अतिथि, नगरपालिकाका प्रमुख राजु तिरुवा, गेटा आँखा अस्पतालकी निर्देशक सुजाता भण्डारी, केन्द्रीय नेत्र ज्योति संघ गेटा आँखा अस्पतालका सदस्य नेरेन्द्र शर्मा तथा भजनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टलगायतको उपस्थिति रहेको थियो।कार्यक्रममा व्यवस्थापन समिति अध्यक्ष यज्ञराज चौधरीले शुभकामना मन्तव्य दिँदै भजनी नगरपालिकालाई विशेष धन्यवाद व्यक्त गर्नुभयो । उनले आर्थिक अभावका कारण कुनै पनि आँखाका बिरामी उपचार र औषधिबाट वञ्चित हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।
सोही अवसरमा गेटा आँखा अस्पताल र भजनी नगरपालिकाको आयोजनामा तथा भजनी प्राथमिक स्वास्थ्य केन्द्रको सहजीकरणमा दुईदिने निःशुल्क आँखा शिविरसमेत सञ्चालन गरिएको छ। शिविरको उद्घाटनसँगै कार्यक्रम सम्पन्न भएको थियो।कार्यक्रमको सञ्चालन भजनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले गरे । नयाँ भवनबाट आँखा उपचार सेवा सञ्चालनमा आएसँगै भजनी नगरपालिका तथा आसपासका स्थानीय बासिन्दालाई आँखा सम्बन्धी उपचार तथा स्वास्थ्य सेवामा थप सहजता हुने अपेक्षा गरिएको छ।