भजनी, कैलाली । कैलालीको भजनी रंगशालामा युवा फुटबल खेलाडीको अन्तर्राष्ट्रिय सपना बोकेको महत्वपूर्ण छनोट कार्यक्रम सुरु भएको छ। “विश्वलाई फुटबलले जोड्छ, हरेक प्रतिभालाई एक अवसर दिऔं” भन्ने नारासहित FIFA U-15 World Cup & Festival 2026 (Boys) का लागि पुरुष खेलाडी छनोट सुरु गरिएको हो।अजरबैजानमा आगामी अक्टोबर २२ देखि ३१, २०२६ सम्म आयोजना हुने प्रतियोगिताका लागि भजनी क्लब, भजनीको आयोजनामा खुला छनोट भइरहेको छ। कैलालीमा भजनी नगरपालिका र गोदावरी नगरपालिका गरी दुई स्थानमा प्रतिभावान खेलाडी छनोट गरिनेछ।
छनोटमा सहभागी U-15 उमेर समूहका खेलाडीहरूले मैदानमा आफ्नो प्रतिभा, कौशल र खेल क्षमता प्रदर्शन गर्दै नेपालको प्रतिनिधित्व गर्ने ऐतिहासिक अवसरका लागि प्रतिस्पर्धा गर्नेछन्।भजनीमा सुरु भएको यस छनोटले स्थानीय तहमा लुकेर रहेका फुटबल प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउने अपेक्षा गरिएको छ। खेलाडीहरूका लागि यो केवल छनोट प्रतियोगिता नभई विश्व फुटबलको यात्रातर्फ अघि बढ्ने सुनौलो अवसर बनेको भजनी क्लब भजनीका अध्यक्ष दिनेश केसीले बताउनुभयो।