भजनी, २२ साउन। बालबालिकाको आवाजलाई सशक्त बनाउँदै बाल अधिकार तथा समुदायका सवाललाई सञ्चारमाध्यममार्फत प्रभावकारी रूपमा उठाउने उद्देश्यले कैलालीको भजनीमा सञ्चारकर्मीसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो।यार्ड धनगढीको आयोजना तथा वल्डभिजनको आर्थिक सहयोगमा भजनी नगरपालिका–१मा आयोजित कार्यक्रममा बालबालिकाका अधिकार, उनीहरूले भोगिरहेका समस्या तथा समुदायका विभिन्न सवालका विषयमा छलफल गरिएको हो।
कार्यक्रममा बालबालिकाको आवाजलाई प्राथमिकताका साथ सञ्चारमाध्यममा ल्याउने, बाल अधिकार संरक्षण तथा प्रवर्द्धनमा सञ्चारमाध्यमको भूमिका प्रभावकारी बनाउने र बालबालिकासँग सम्बन्धित विषयलाई जिम्मेवार तथा संवेदनशील ढंगले प्रस्तुत गर्ने विषयमा अन्तरक्रिया गरिएको थियो। यार्डका सामाजिक परिचालक रतन चौधरीले बालबालिकाको समग्र समस्याहरुको पहिचान गर्दै त्यसको निराकरणका लागि बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो परियोजना काम गर्दै आएको बताए । पछिल्लो समयमा बालमैत्री वडा घोषणाको लागि पनि परियोजनाले काम गरिरहेको बताए ।
गणेशमान आधारभूत विद्यालयका प्रअ जादुलाल रायले परियोजनासँग जोडिएर काम गर्दै आएका आरसी बालबालिकाहरुले शिक्षाको क्षेत्रमा राम्रो सहयोग पाएको बताएका छन् । आरसी परियोजनाले पढाइको महत्त्व बुझाएको बताउँदै शैक्षिक सामाग्रीहरुमा पनि राम्रो सहयोग गरेको बताए।
आरसी बालबालिकाको अभिभावक दुर्गा देवी साउदले परियोजनाले बालबालिकाको सिकाइ र व्यवहारमा राम्रो काम गरेको बताउँदै अभिभावकलाई पनि बालबालिका प्रती उत्तरदायी बनाएको बताएकी छन् ।परियोजनाले भजनी नगरपालिकाको वडा नं.१,२,३,४,५,७ र ९ मा काम गरिरहेको छ भने अन्य चारवटा स्थानीय तहमा पनि काम गरिरहेको छ ।
कार्यक्रमले बालबालिका तथा समुदायका आवाजलाई सम्बन्धित निकायसम्म पुर्याउन सञ्चारमाध्यम र सरोकारवाला संस्थाबीच सहकार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।