भजनी, १४ साउन। कैलालीको भजनीस्थित पृथ्वीपुर छोटी भन्सार कार्यालय बन्द गर्ने तयारीप्रति स्थानीय व्यवसायी तथा सरोकारवालाले गम्भीर आपत्ति जनाएका छन्। भजनी उद्योग वाणिज्य संघले उक्त निर्णय तत्काल फिर्ता गरी भन्सार कार्यालयलाई निरन्तर सञ्चालनमा राख्न सरकारसँग माग गरेको छ।भजनी उद्योग वाणिज्य संघका अध्यक्ष जयबहादुर बुढाले पृथ्वीपुर छोटी भन्सार कार्यालय हटाउने चर्चा सत्य भए यसले स्थानीय नागरिकको अधिकारमाथि हस्तक्षेप गर्नुका साथै व्यापार–व्यवसायमा प्रतिकूल असर पार्ने र भजनीको आर्थिक गतिविधिलाई कमजोर बनाउने बताए।
त्यस्तै, भजनी नगरपालिका वडा नं. ५ का अध्यक्ष केशव बुढाले पृथ्वीपुर छोटी भन्सार कार्यालय हटाउनु केवल एउटा सरकारी कार्यालय स्थानान्तरणको विषय नभई भजनीको पहिचान, स्थानीय व्यापार, रोजगारी तथा समग्र आर्थिक भविष्यसँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएको बताए।यता, सत्ति भन्सार कार्यालयका प्रमुख नबिन शर्माले भने पृथ्वीपुर छोटी भन्सार कार्यालय भन्सार नियमावलीअनुसार बन्द हुने प्रक्रियामा रहेको जानकारी दिएका छन्। उनका अनुसार सत्ति भन्सार कार्यालयबाट करिब २० किलोमिटर दूरीमा रहेको उक्त कार्यालय नियमावलीले प्राथमिकतामा नराखेकाले बन्द गर्ने प्रक्रिया अघि बढाइएको हो।
तर स्थानीय व्यवसायी तथा सर्वसाधारणले पृथ्वीपुर छोटी भन्सार कार्यालय भजनी क्षेत्रको व्यापारिक गतिविधि, सीमावर्ती आवतजावत तथा स्थानीय अर्थतन्त्रका लागि अत्यावश्यक रहेको उल्लेख गर्दै यसको निरन्तरताको माग गरेका छन्।स्थानीय अमृत केसीका अनुसार भन्सार कार्यालय बन्द गर्ने निर्णयले सीमावर्ती क्षेत्रको व्यापार थप प्रभावित हुनुका साथै स्थानीय विकासमा समेत नकारात्मक असर पर्नेछ। यस विषयमा सम्बन्धित निकायले स्थानीयको भावना र आवश्यकतालाई मध्यनजर गर्दै उचित निर्णय लिनुपर्ने स्थानीयको माग रहेको छ।