भजनी, कैलाली । नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाद्वारा सञ्चालित ECOLAB कार्यक्रम अन्तर्गत भजनी नगरपालिकाका बाढी तथा विपद्को उच्च जोखिममा रहेका वडा नं. ३ र ८ लाई पूर्वसूचना तथा उद्धार सामग्री हस्तान्तरण गरिएको छ।कार्यक्रममार्फत प्रदान गरिएका सामग्रीहरूले बाढी तथा अन्य विपद्का बेला समयमै पूर्वसूचना प्रवाह गर्न, प्रभावकारी उद्धार कार्य सञ्चालन गर्न तथा धनजनको क्षति न्यूनीकरण गर्न महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।
हस्तान्तरण गरिएका सामग्रीमा ६ थान लाइफ ज्याकेट, ६ जोडी गमबुट, ६ थान सुरक्षा हेल्मेट, १०० मिटरको १ रोल नाइलन डोरी, २ थान फोल्डिङ स्ट्रेचर, १ थान साइरन, १ थान ह्यान्ड माइक, १५ थान सिट्टी, ६ थान हेड लाइट, ६ थान चार्ज गर्न मिल्ने टर्च तथा सामग्री सुरक्षित राख्न १ थान ट्रंक रहेका छन्।
कार्यक्रमका प्रमुख प्रशासकिय अधिकृत भोज राज भट्टले यी सामग्रीले विपद्को समयमा समुदायलाई समयमै सूचना प्रवाह गर्न, उद्धार कार्यलाई छिटो, सुरक्षित र प्रभावकारी बनाउन तथा प्रभावित नागरिकको सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
