Skip to main content

Bhajani Today

स्वास्थ्य चौकी स्तरीय न्यूनतम सेवा मापदण्ड (HP MSS) समीक्षा सम्पन्न

भजनी, कैलाली, असार १७ / भजनी नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्य चौकी स्तरीय न्यूनतम सेवा मापदण्ड (HP MSS) समीक्षा कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा भजनी नगरपालिकाका उपप्रमुख प्रमुख प्रशासकिय अधिकृत, शाखा अधिकृत,वडा नं. १ देखि ९ सम्मका वडा अध्यक्ष, भजनी आधारभूत स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज, विभिन्न स्वास्थ्य संस्थाका प्रमुख तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो। समीक्षा कार्यक्रममा स्वास्थ्य संस्थाहरूले प्रदान गरिरहेका सेवाको गुणस्तर, न्यूनतम सेवा मापदण्डको कार्यान्वयन अवस्था तथा सुधार गर्नुपर्ने पक्षबारे छलफल गरिएको थियो।

कार्यक्रममा बोल्दै वडा नं. १ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि न्यूनतम सेवा मापदण्डको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो। नगर उपप्रमुख राजु तिरूवाले स्वास्थ्य संस्थाहरूबीच स्वस्थ प्रतिस्पर्धा र सेवाको गुणस्तर अभिवृद्धिका लागि यस्ता समीक्षा कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्नुभयो। प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले समीक्षा कार्यक्रमबाट प्राप्त सुझाव तथा निष्कर्षलाई कार्यान्वयन गर्दै स्वास्थ्य सेवामा थप सुधार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

समीक्षामा प्रस्तुत नतिजाअनुसार लालबोझी स्वास्थ्य चौकीले ९० प्रतिशत अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ। त्यसपछि खेलाड स्वास्थ्य चौकीले ८३ प्रतिशत, थापापुर स्वास्थ्य चौकीले ७४ प्रतिशत र धनौरा आधारभूत स्वास्थ्य सेवा केन्द्रले ७२ प्रतिशत अंक प्राप्त गरेका छन्। त्यसैगरी चर्रा स्वास्थ्य चौकीले ६७ प्रतिशत, मन्त्रीफाँटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र गोडचौरा आधारभूत स्वास्थ्य सेवा केन्द्रले समान ६३ प्रतिशत, तथा पल्टुपुर आधारभूत स्वास्थ्य सेवा केन्द्रले ५९ प्रतिशत अंक प्राप्त गरेको समीक्षा प्रतिवेदनमा उल्लेख गरिएको छ।

कार्यक्रममा आगामी दिनमा सबै स्वास्थ्य संस्थाले न्यूनतम सेवा मापदण्डलाई प्रभावकारी रूपमा कार्यान्वयन गरी नागरिकलाई थप गुणस्तरीय, सहज र भरपर्दो स्वास्थ्य सेवा उपलब्ध स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले बताउनु भयो। कार्यक्रमको सहजीकरण रविन चौधरी र छत्र बहादुर बुढाले गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *