भजनी, कैलाली । भजनी नगरपालिकामा नव जीवन सेवा संघ (NSA) द्वारा सञ्चालन गरिने पाँच वर्षे शिक्षा परियोजना ‘रुपान्तरित व्यक्ति–रुपान्तरित समुदाय (सन् २०२६–२०३०)’ को औपचारिक शुभारम्भ गरिएको छ। परियोजनाको पहिलो परियोजना सल्लाहकार समिति बैठक तथा प्रारम्भिक (किक-अफ) अभिमुखीकरण कार्यक्रम भजनी नगरपालिकामा सम्पन्न भएको हो।
भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख राजु तिरुवा, वडा अध्यक्षहरू, शिक्षा शाखा अधिकृत पंख बहादुर शाह,नगरपालिकाका विभिन्न शाखाका प्रतिनिधिहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरू, आमा समूह, बाल क्लब, युवा क्लब तथा अपाङ्गता भएका व्यक्तिहरूको संस्थाका प्रतिनिधिहरू लगायत विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा नव जीवन सेवा संघका कार्यक्रम व्यवस्थापक एकेन्द्र ठकुल्लाले परियोजनाको उद्देश्य, लक्ष्य, प्रमुख गतिविधि, अपेक्षित उपलब्धि तथा पाँच वर्षे कार्ययोजनाबारे विस्तृत जानकारी गराउनुभएको थियो। उहाँले परियोजनाले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि, बालबालिकाको सिकाइ उपलब्धिमा सुधार तथा समुदायको सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
फिडा इन्टरनेशनलको सहयोगमा सञ्चालन हुने उक्त परियोजनाको कुल बजेट ५ करोड ७४ लाख ५० हजार रुपैयाँ रहेको छ। सन् २०२६ का लागि मात्र १ करोड १८ लाख ८० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ। परियोजनाले भजनी नगरपालिकाभित्र रहेका ३९ वटै सामुदायिक विद्यालयलाई समेट्नेछ।परियोजना अन्तर्गत विद्यालय पूर्वाधार सुधार, शैक्षिक सामग्री व्यवस्थापन तथा सिकाइमैत्री वातावरण निर्माणजस्ता भौतिक गतिविधिहरू सञ्चालन गरिनेछन्। साथै शिक्षक, विद्यार्थी तथा समुदायको क्षमता विकास, नेतृत्व विकास, बाल संरक्षण, शिक्षा सुधार तथा समुदाय सशक्तीकरणसम्बन्धी विभिन्न कार्यक्रम पनि सञ्चालन गरिने जनाइएको छ।
कार्यक्रममा फिडा नेपालका तर्फबाट के.आर. चौधरीले परियोजनाको उद्देश्य, साझेदारी र अपेक्षित उपलब्धिबारे जानकारी प्रस्तुत गर्नु भएको थियो। कार्यक्रममा सहभागीहरूले शिक्षा क्षेत्रको सुधार र गुणस्तरीय शिक्षामा परियोजनाले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए।कार्यक्रमको अन्त्यमा नव जीवन सेवा संघकी उपाध्यक्ष प्रेमकुमारी नेपालीले धन्यवाद ज्ञापन गर्नुभएको थियो। समापनका क्रममा नगर प्रमुख केवल चौधरीले परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि भजनी नगरपालिकाको पूर्ण सहयोग र समन्वय रहने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो।
यस परियोजनाले आगामी पाँच वर्षमा भजनी नगरपालिकाका विद्यालय, बालबालिका तथा समुदायको शैक्षिक, सामाजिक र संस्थागत विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।