Skip to main content

Bhajani Today

भजनी नगरपालिकाले ल्यायो ७० करोड ५५ लाख २० हजारको बजेट

भजनी, कैलाली। कैलालीको भजनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७० करोड ५५ लाख २० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो।नगरपालिकाको २०औँ नगरसभाको अधिवेशन अन्तर्गत २०८३ असार ८ गते सम्पन्न दोस्रो बैठकमा नगर उपप्रमुख राजु तिरुवाले बजेट प्रस्तुत गर्नुभएको थियो।

प्रस्तुत बजेटअनुसार चालु तर्फ ४६ करोड ८२ लाख २२ हजार रुपैयाँ तथा पूँजीगत तर्फ २४ करोड ४६ लाख ९८ हजार रुपैयाँ विनियोजन गरिएको छ। नगरपालिकाले पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, सामाजिक सुरक्षा तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै बजेट तर्जुमा गरेको प्रमुख प्रशासकीय अधिकृत भोज राज भट्टले जानकारी दिनुभयो।

नगरसभाले बजेटसँगै विभिन्न क्षेत्रसँग सम्बन्धित ६ वटा महत्वपूर्ण विधेयक समेत पारित गरेको छ। पारित विधेयकहरूमा बालबालिकाको अधिकार सम्बन्धी ऐन, २०८३, मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०८३, जलीय संरक्षण ऐन, २०८३, शिक्षा ऐन, २०८१ (संशोधन २०८३), न्यायिक समिति कार्यविधि सम्बन्धी ऐन, २०७५ (संशोधन २०८३) तथा सार्वजनिक खरिद नियमावली, २०८२ अनुमोदन रहेका छन्।

नगरसभा अध्यक्ष तथा नगर प्रमुख केवल चौधरीले पारित विधेयकहरूले नगरपालिकाको सेवा प्रवाह, सुशासन तथा विकास व्यवस्थापनलाई थप प्रभावकारी बनाउने बताउनु भयो।

नगरपालिकाका जनप्रतिनिधिहरूले प्रस्तुत बजेटले समावेशी विकास, आर्थिक समृद्धि तथा नागरिकमैत्री सेवा प्रवाहलाई थप सुदृढ बनाउने बताएका छन्। आगामी आर्थिक वर्षमा विकास निर्माणका योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्दै नगरवासीको जीवनस्तर सुधारमा केन्द्रित रहने प्रतिबद्धता समेत नगरसभामा व्यक्त गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *