Skip to main content

Bhajani Today

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा कार्यक्रम सम्पन्न

भजनी, कैलाली । भजनी नगरपालिका–५ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको छ। लालबोझी स्वास्थ्य चौकीको आयोजनामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सरोकारवाला निकाय तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो। राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत लक्षित उमेर समूहका सबै बालबालिकाले पूर्ण खोप प्राप्त गरेको सुनिश्चित भएपछि वडा नं. ५ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको ललाबोझी स्वास्थ्य चौकी इन्चार्ज बिना रावलले जानकारी दिनु भयो।

कार्यक्रममा वडा अध्यक्ष केशव बहादुर बुढाले पूर्ण खोप सुनिश्चितता हासिल गर्नु मात्र पर्याप्त नभई त्यसको दिगोपना कायम राख्नु अझ महत्वपूर्ण चुनौती रहेको बताए। उनले वडा भित्र जन्मिने कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित हुन नदिन अभिभावक, स्वास्थ्यकर्मी तथा समुदाय सबैको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे।

प्रमुख प्रशासकीय अधिकृत भोज राज भट्टले स्वास्थ्य क्षेत्रमा प्राप्त उपलब्धिहरूलाई दीर्घकालीन रूपमा संरक्षण गर्न स्थानीय सरकार, स्वास्थ्य संस्था र समुदायबीचको सहकार्य अपरिहार्य रहेको बताए। उनले पूर्ण खोपयुक्त वडा घोषणा स्थानीय तहको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै आगामी दिनमा समेत यस्ता स्वास्थ्य सूचकहरूलाई सुदृढ बनाउन सबै पक्ष लाग्नुपर्ने बताए।

स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले राष्ट्रिय खोप तालिका अनुसार लक्षित सबै बालबालिकाले पूर्ण खोप प्राप्त गरेपछि वडा घोषणा गरिएको जानकारी दिए। उनले नियमित खोप सेवा, निरन्तर अनुगमन, अभिभावक सचेतना तथा समुदायको सहभागितामार्फत पूर्ण खोप सुनिश्चितताको दिगोपना कायम राखिने बताए। उक्त कार्यक्रममा महिला स्वास्थ्य स्वयम सेविका गीता देवी हमाल र सरस्वती देवी कुश्मीलाई अनिवार्य अवकाश प्राप्त भएकाले बिदाई तथा सम्मान गरिएको थियो।

कार्यक्रममा सहभागीहरूले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए। साथै, भविष्यमा पनि कुनै पनि बालबालिका खोप सेवाबाट छुट्न नदिने साझा प्रतिबद्धतासहित वडा नं. ५ लाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा गरिएको थियो।कार्यक्रमको सहजीकरण सि. अनमी लक्ष्मी थापाले गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *