साझा अक्षर

भजनीमा सिकलसेल र थालासेमिया सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

भजनी, कैलाली। भजनी नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा पालिका स्तरीय जनप्रतिनिधि तथा विभिन्न सरोकारवालाहरूलाई लक्षित गरी सिकलसेल र थालासेमिया सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख केवल चौधरी ले सिकलसेल र थालासेमिया सुदूरपश्चिमका थारू समुदायमा बढी देखिने गम्भीर वंशाणुगत स्वास्थ्य समस्या भएकाले यसको रोकथाम तथा नियन्त्रणका लागि सबै पक्षको साझा पहल आवश्यक रहेको बताउनुभयो। उहाँले समयमै परीक्षण, परामर्श तथा जनचेतना अभिवृद्धिमार्फत रोगको प्रभाव न्यूनीकरण गर्न सकिने उल्लेख गर्दै स्थानीय तहले स्वास्थ्य सेवाको पहुँच विस्तार र सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिएको बताउनुभयो।

कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूलाई रोगको प्रभाव, जोखिम समूह तथा समयमै परीक्षण र उपचारको महत्वबारे स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले बताउनु भयो। भजनी प्राथमिक स्वास्थ्य केन्द्रको सभाहलमा आयोजित कार्यक्रममा सिकलसेल र थालासेमिया रोगको अवस्था, रोकथाम, पहिचान, उपचार तथा समुदायमा जनचेतना अभिवृद्धि गर्ने विषयवस्तुमा रविन चौधरी र छत्र बहादुर बुढाले सहजीकरण गर्नुभएको थियो।

कार्यक्रममा वडा नं. ५ का अध्यक्ष केशव बहादुर बुढा ले सिकलसेल र थालासेमिया जस्ता वंशाणुगत रोगबारे समुदायस्तरमै व्यापक जनचेतना आवश्यक रहेको बताउनुभयो। उहाँले, “समयमै परीक्षण र परामर्शका माध्यमबाट यस्ता रोगको जोखिम न्यूनीकरण गर्न सकिन्छ। त्यसैले प्रत्येक परिवारसम्म सचेतना सन्देश पुर्‍याउन स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीच सहकार्य आवश्यक छ,” भन्नुभयो।

भजनी नगरपालिका स्वास्थ्य शाखाले यस्ता कार्यक्रममार्फत सिकलसेल तथा थालासेमिया सम्बन्धी जानकारी समुदायसम्म पुर्‍याई रोग नियन्त्रण तथा व्यवस्थापनमा सहयोग पुग्ने स्वास्थ्य शाखा प्रमुख चौधरीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *