भजनी, कैलाली। विश्व वातावरण दिवस २०२६ को अवसरमा दिगो विकास समाज (DBS) भजनी र World Vision International Nepal को सहकार्यमा “एक बालबालिका, एक बिरुवा” राष्ट्रिय अभियान शुभारम्भ गरिएको छ।“समृद्ध भविष्यको आधार : जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने नारासहित सञ्चालन गरिएको अभियानअन्तर्गत कैलाली जिल्लाका भजनी, टीकापुर, गौरीगंगा, कैलारी तथा घोडाघोडी नगरपालिकाका करिब ६ हजार ५ सय बालबालिकालाई एक–एक बिरुवा वितरण गरिएको दिगो विकास समाज (DBS) भजनीका अधिकृत विनोद शाहले बताए ।
अभियानको मुख्य उद्देश्य बालबालिकामार्फत वृक्षारोपणलाई प्रवर्द्धन गर्दै वातावरण संरक्षण, हरियाली विस्तार तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा योगदान पुर्याउनु रहेको छ। प्रत्येक बालबालिकाले आफूले प्राप्त गरेको बिरुवा रोपेर त्यसको संरक्षण गर्ने प्रतिबद्धतासहित अभियानमा सहभागिता जनाएका छन्।कार्यक्रमअन्तर्गत वितरण गरिएका बिरुवाहरू गाउँघरमा रोपिनेछन्। यस अभियानले बालबालिकामा वातावरणीय चेतना विकास गर्नुका साथै प्रकृतिप्रतिको जिम्मेवारी बोध गराउने अपेक्षा गरिएको छ।
आयोजक संस्थाका अनुसार विश्व वातावरण दिवसको सन्देशलाई व्यवहारमा उतार्ने उद्देश्यले सञ्चालन गरिएको यो अभियानले वातावरण संरक्षण, जैविक विविधताको संरक्षण तथा दिगो विकास प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
दिगो विकास समाज (DBS) भजनीले अभियानलाई सफल बनाउन विभिन्न स्थानीय तह, विद्यालय, समुदाय तथा सरोकारवाला निकायहरूसँग समन्वय र सहजीकरण गर्दै महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाएको छ। कार्यक्रममा रोपिएका बिरुवाको संरक्षण, नियमित हेरचाह तथा दीर्घकालीन व्यवस्थापनमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेकोमा समेत जोड दिइएको थियो।
विश्व वातावरण दिवसको अवसरमा सुरु गरिएको “एक बालबालिका, एक बिरुवा” अभियानलाई जिल्लाभर वातावरण संरक्षण र हरियाली प्रवर्द्धनका लागि प्रभावकारी तथा अनुकरणीय पहलका रूपमा हेरिएको छ।