भजनी, कैलाली । विश्व वातावरण दिवस २०८३ को अवसरमा भजनी नगरपालिकाको आयोजनामा तथा दिगो विकास समाज (DBS) भजनी र World Vision International Nepal को सहकार्यमा वृक्षरोपण, सरसफाइ तथा सडक नाटक कार्यक्रम सम्पन्न गरिएको छ।
“समृद्ध भविष्यको आधार : जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने नारासहित आयोजित कार्यक्रममा भजनी नगरपालिकाको कार्यालय परिसरमा विभिन्न प्रजातिका बिरुवा रोपिएको वन वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख विष्णु राज न्यौपानेले जानकारी दिए। वृक्षरोपणका लागि आवश्यक बिरुवा सब डिभिजन वन कार्यालय भजनी ले उपलब्ध गराएको थियो भने कार्यक्रम सञ्चालनमा विभिन्न टोल विकास संस्थाहरूले सहयोग गरेका थिए।
यस अवसरमा भजनी बजार क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गर्नुका साथै वातावरण संरक्षण, हरित विकास र जलवायु परिवर्तनका असरबारे जनचेतना फैलाउने उद्देश्यले सडक नाटक समेत प्रदर्शन गरिएको थियो। कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सहभागीहरूले वृक्षरोपण, सरसफाइ तथा जनचेतनामूलक कार्यक्रमले वातावरण संरक्षणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्दै यस्ता गतिविधिलाई समुदायस्तरसम्म विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।