कैलाली जिल्लास्तरीय १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८३ सम्पन्न भएको छ । प्रतियोगितामा धनगढी उपमहानगरपालिका प्रथम बन्दै सर्वाधिक ५२ पदक हासिल गर्न सफल भएको छ । धनगढीले ३० स्वर्ण, १४ रजत र ८ कांस्य पदक जितेको हो ।
यस्तै, घोडाघोडी नगरपालिका दोस्रो तथा गोदावरी नगरपालिका तेस्रो स्थानमा रहेका छन् ।प्रतियोगितामा भजनी नगरपालिकाले पनि उत्साहजनक प्रदर्शन गर्दै कुल ५ पदक हात पारेको छ । भजनीले १ स्वर्ण, १ रजत र ३ कांस्य पदक जित्दै जिल्लास्तरीय खेलकुदमा आफ्नो उपस्थिति बलियो बनाएको हो ।
यस वर्षको प्रतियोगितामा भजनीका खेलाडीहरूले विगतको तुलनामा सुधारिएको प्रदर्शन गर्दै विभिन्न विधामा प्रतिस्पर्धात्मक खेल देखाएका थिए । विशेषगरी सुरुवाती चरणमै स्वर्ण पदक जितेर भजनीले ऐतिहासिक सुरुवात गरेको थियो ।
भजनी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले खेल क्षेत्रले अनुशासन, आत्मविश्वास र नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै खेलाडीहरूको मेहनत र समर्पणकै कारण भजनीले जिल्लास्तरमा सकारात्मक नतिजा हासिल गर्न सफल भएको प्रतिक्रिया दिएका छन् । उनले आगामी दिनमा खेलकुद क्षेत्रको विकास र खेलाडी प्रोत्साहनका लागि नगरपालिकाले थप सहयोग गर्ने पनि बताएका छन् ।प्रतियोगितामा जिल्लाभरिका १३ स्थानीय तहका खेलाडीहरूको सहभागिता रहेको थियो । समापन समारोहमा विजेता खेलाडी तथा टोलीलाई पदक र प्रमाणपत्र वितरण गरिएको आयोजकले जनाएको छ ।