भजनी ०४ माघ /निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) भजनी नगर कार्यसमितिको आयोजनामा प्याब्सन कप सुरु भएको छ ।
भजनी नगरपालिकाको वडा नं. ७ को पुरैना युवा क्लबको खेल मैदानमा प्याब्सन कप फुटबल प्रतियोगिता शनिबार सुरु भएको हो । १४ वर्ष मुनिको (प्याब्सन कप २०८२) फुटबल प्रतियोगिता कार्यक्रमको अध्यक्षता प्याब्सन भजनीका अध्यक्ष खडक बुढाले गरेका थिए । कार्यक्रममा नगर प्रमुख केवल चौधरीले खेलकुद अनुशासनको प्रतिबिम्ब भएको बताएका छन् । “खेलकुदले शारीरिक मात्रै नभई अनुशासनको राम्रो पाठ सिकाउने गर्छ ।” उनले भने, “मानिसहरूमा अनुशासन सबैभन्दा महत्त्वपूर्ण कुरा पनि हो ।”
नगर प्रमुख चौधरीले नगरपालिकाले खेलकुदका हरेक गतिविधिमा सहयोग र सहकार्य गर्दै आएको बताउँदै खेलकुदमा नगरपालिकाको लगानी आगामी दिनमा पनि रहने विश्वास व्यक्त गरे । कार्यक्रममा वडा नं. ५ का वडा सदस्य राजेन्द्र खनाल, नेपाली काँग्रेसका भजनी नगर सभापति नवराज मिश्र, समाजसेवी नृप बहादुर बुढा, पदम शाही लगातले शुभकामना मन्तव्य राखेका थिए ।प्याब्सन कैलाली जिल्ला उपाध्यक्ष राज बुढाले स्वागत गरेको कार्यक्रमको सञ्चालन डम्बरदत्त जोशीले गरेका थिए ।
अध्यक्ष बुढाले समयानुकूल खेलकुद प्रतियोगिता आयोजना भइरहने गरेको भए पनि पहिलोपटक उ उमेर समूह लक्षित गरेर प्याब्सनले फुटबल प्रतियोगिता आयोजना गरेको बताएका छन् । प्रतियोगिता ७ गतेसम्म सञ्चालन रहने छ ।