Skip to main content

Bhajani Today

सुदूरपश्चिममा पुष्प व्यवसायको नयाँ पहिचान बनाउँदै’ सीताराम

दिपक बहादुर विक/टीकापुर: प्रहरी अधिकृत बन्ने सपना थियो। तर परिस्थितिले जीवनको बाटो बदलिदियो। सपना अधुरै रहे पनि उनले हिम्मत हारेनन्। फोटोग्राफी, भिडियोग्राफी र चलचित्र निर्माण हुँदै कृषिमा भविष्य खोजेका कैलालीको टीकापुर नगरपालिका–१ बनगाउँका सीताराम चौधरी अहिले फूलखेतीबाट सुदूरपश्चिममा आफ्नो छुट्टै पहिचान बनाउँदै छन्।करिब एक दशकदेखि व्यावसायिक पुष्पखेतीमा सक्रिय चौधरीले १५ कट्ठा जमिनमा सयपत्री र मखमली फूल उत्पादन गर्दै आएका छन्। आफ्नै माटोमा सम्भावना खोज्दै पुष्प व्यवसायलाई मुख्य पेसा बनाएका उनले कृषि क्षेत्रमा पनि मेहनत र लगनशीलताका साथ सफल हुन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्।२०५२ सालमा नेपाली विषयमा स्नातक गरेका चौधरी आर्थिक अवस्थाका कारण स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गर्न सकेनन्। प्रहरी अधिकृत बन्ने सपना पनि पूरा हुन सकेन। त्यसपछि उनले फोटोग्राफी तथा भिडियोग्राफीलाई व्यावसायिक यात्राको आधार बनाए।

फोटोग्राफी र भिडियोग्राफीसँगै चलचित्र निर्माणमा समेत जोडिएका उनी थारू भाषाको चलचित्र ‘कुहिरा’का निर्मातासमेत हुन्। कला क्षेत्रमा अनुभव बटुलेका चौधरीले शैक्षिक क्षेत्रमा पनि योगदान पुर्‍याए। उनले राष्ट्रिय माध्यमिक विद्यालय, टीकापुर–५ मनिकापुरको अध्यक्षका रूपमा समेत जिम्मेवारी सम्हालेका थिए।विभिन्न क्षेत्रमा अनुभव हासिल गरेका चौधरीको व्यावसायिक यात्रा अन्ततः कृषितर्फ मोडियो। पछिल्लो एक दशकदेखि पुष्प व्यवसायमा सक्रिय उनी अहिले तिहारलाई लक्षित गरी सयपत्री र मखमली फूल उत्पादन गर्दै आएका छन्।

फूलखेती हेर्दा जति आकर्षक देखिन्छ, यसको उत्पादन र व्यवस्थापनमा त्यति नै मेहनत गर्नुपर्ने उनको अनुभव छ। बिरुवा रोप्नेदेखि गोडमेल, स्याहारसुसार, रोगकिरा नियन्त्रण र फूल उत्पादनसम्म निरन्तर खटिनुपर्छ। आफ्नै अध्ययन, अनुसन्धान र अनुभवका आधारमा व्यवसाय अघि बढाइरहेका चौधरीका अनुसार पुष्प व्यवसायमा सफल हुन धैर्य, लगनशीलता र कामप्रतिको समर्पण आवश्यक छ।हाल उनले उत्पादन गरेका फूल प्रतिमाला एक सय रुपैयाँ र प्रतिकिलो पाँच सय रुपैयाँका दरले बिक्री गर्दै आएका छन्। उत्पादनमा मेहनत गर्नुपर्ने भए पनि बजार व्यवस्थापनमा भने खासै समस्या नरहेको उनको भनाइ छ।

चौधरी फूलखेतीलाई आम्दानीको माध्यममा मात्र सीमित राख्न चाहँदैनन्। यसलाई स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने र युवालाई आत्मनिर्भर बनाउने अवसरका रूपमा लिन्छन्। नेपालमै सम्भावना हुँदाहुँदै रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न युवाले आफ्नै ठाउँमा उपलब्ध स्रोतसाधन र अवसरको सदुपयोग गर्नुपर्ने उनको सुझाव छ।मेहनत, लगनशीलता र धैर्यका साथ काम गर्न सके स्वदेशमै राम्रो आम्दानी गर्न सकिने उनी बताउँछन्। कृषि तथा पुष्प व्यवसायलाई सम्मानित पेसाका रूपमा अपनाउन युवालाई आग्रह गर्ने चौधरी फूलखेती गर्न इच्छुक किसान तथा युवालाई आफूले जानेका सीप र अनुभव बाँड्नसमेत तयार छन्।

प्रहरी अधिकृत बन्ने सपना बोकेका सीतारामको जीवनयात्रा अहिले फूलसँग जोडिएको छ। फोटोग्राफीदेखि चलचित्र निर्माण, शैक्षिक नेतृत्व हुँदै पुष्प व्यवसायसम्म आइपुगेका उनले परिस्थितिअनुसार बाटो बदल्नुपरे पनि मेहनत र आत्मविश्वास नछोडे सफलताको नयाँ सम्भावना सिर्जना गर्न सकिन्छ भन्ने सन्देश दिएका छन्।सुदूरपश्चिममा पुष्प व्यवसायको विकास र विस्तारमा योगदान पुर्‍याउँदै आएका चौधरी आफ्नै माटोमा भविष्य खोज्ने र स्वदेशमै केही गर्ने सपना देख्ने युवाका लागि प्रेरणाको स्रोत बनिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *