Skip to main content

Bhajani Today

भजनीमा सिकलसेल एनिमिया सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

कैलाली जिल्लाको भजनी नगरपालिकामा सिकलसेल एनिमिया रोग सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। भजनी नगरपालिकाको स्वास्थ्य शाखाको आयोजना तथा सरोकारवाला निकायहरूको सहभागितामा सम्पन्न कार्यक्रममा सिकलसेल एनिमियाको अवस्था, जोखिम, पहिचान, उपचार र रोकथामका उपायबारे विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा सिकलसेल एनिमिया वंशानुगत रोग भएको जानकारी दिँदै समयमै परीक्षण र परामर्श आवश्यक हुने स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरी बताए। विशेषगरी थारू समुदायमा यो रोगको जोखिम बढी देखिने भएकाले समुदायस्तरमै सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिइयो। गर्भावस्थामै परीक्षण, नियमित स्वास्थ्य जाँच, तथा आवश्यक उपचार सेवामा पहुँच बढाउनुपर्ने विषयमा स्वास्थ्य कार्यालय कैलालीका मिन बहादुर धामीले प्रशिक्षक दिनु भएको थियो।

अन्तरक्रियामा स्वास्थ्यकर्मीले सिकलसेल एनिमियाबाट प्रभावित व्यक्तिहरूका लागि स्थानीय तहले नीति, कार्यक्रम तथा बजेटमार्फत सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए। साथै नगर उपप्रमुख राजु तिरुवाले आवश्यक औषधि, परीक्षण सेवा र परामर्शलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो।कार्यक्रममा विभिन्न वडाका प्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सामाजिक संघसंस्थाका प्रतिनिधि तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको अन्त्यमा आयोजक पक्षले सिकलसेल एनिमियाबारे जनचेतना फैलाउन यस्ता अन्तरक्रिया कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएका छन्। कार्यक्रमको सहजीकरण लक्ष्मी चौधरी र छत्र बुढाले गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *