साझा अक्षर

पैत्तालिस परिवारका लागि सुरक्षित आवास निर्माण गरिँदै

के.आर.पाण्डेय

भजनी २८ फागुन /कैलालीको भजनी नगरपालिकाले विपन्न परिवारलाई सुरक्षित उच्च आवास निर्माण गर्ने भएको छ।बाढी र डुबानको जोखिममा रहेको कैलालीको भजनी नगरपालिका–८ को सुनाफाँटा (खल्ला)मा सुरक्षित आवास निर्माण सुरु भएको छ। भजनी नगरपालिका, राष्ट्रिय दलित नेटवर्क (सुरक्षित आवास परियोजना) र स्थानीयको श्रमदानमा सुरक्षित आवास निर्माण हुन लागेको हो।नगरपालिकाले वडा नम्बर १ र ८ मा ४५ विपन्न परिवारका लागि सुरक्षित उच्च आवास निर्माण गर्ने भएको हो। यसअनुसार वडा नम्बर १ मा २५ वटा र वडा नम्बर ८ मा २० वटा सुरक्षित उच्च आवास निर्माण गरिने छ। बर्सेनि बाढी र डुबानको सास्ती खेप्दै आएका विपन्न परिवार सुरक्षित उच्च आवास निर्माण हुने भएपछि खुसी भएका छन्।

वडा नम्बर ८ की सुशीला पाण्डे वर्षौँदेखिको बाढीको पीडाबाट छुटकारा पाउने आशामा छिन्। ’बर्सातको समयमा झण्डै दुई महिना हुलाकी सडकमा बास हुन्छ। डुबान कम भएर घर फर्किँदा कच्ची घर पुनः मर्मतसम्भार गरेर मात्र बस्न लायक हुन्छ’, उनी भन्छिन्, ’उच्च घर निर्माण भएपछि विगतको समस्याको सामना गर्नुपर्ने छैन। सुरक्षित छु भन्ने आभास हुनेछ।’

सोही ठाउँकी शारदाकुमारी सुनार पनि सरकारले घर निर्माण गरिदिने भएपछि खुसी छिन्। वर्षौँदेखि कच्ची माटोको घरमा बस्दै आएको उनको परिवारले सुरक्षित आवास पाउन लागेको हो। ’विगतजस्तो समस्या अब आउने छैन। घरको खाद्यान्न बाढीले बगाउने छैन। घरका भाँडाकुँडा सुरक्षित रहनेछन्’, उनी भन्छिन्, ’बाढीको त्रासमा रातभर जाग्राम बस्नुपर्ने दिन मेरा लागि अन्त्य हुनेछन्।परिवारले सुरक्षित छु भन्ने आभास गर्नेछ।’

विपन्न परिवारका घर निर्माणका लागि ह्याविट्याट फर ह्युम्यानिटी नेपालको आर्थिक सहयोग तथा राष्ट्रिय दलित नेटवर्क नेपालको प्राविधिक सहयोग रहने छ। आवास निर्माणका लागि प्रतिघर तीन लाख रूपैयाँ नगरपालिकाले व्यहोर्ने छ भने दुई लाख ५० हजार रूपैयाँ सहयोगी संस्थाले व्यहोर्ने छ। त्यसमा करिब एक लाख ६५ हजार रूपैयाँ लाभान्वित परिवारले बेहोर्नुपर्ने छ।चक्रबहादुर आग्रीले जानकारी दिए।

सुरक्षित आवासअन्तर्गत निर्माण हुने घरमा दुईवटा कोठा रहने छन्। बाहिर बरण्डा रहने छभने शौचालय रहने छ।

तर वडा नम्बर १ मा निर्माण हुने आवासमा एउटा भान्सा थप हुने कार्यक्रम संयोजक आग्रीले बताए। ’नगरपालिकाको समन्वयमा यसभन्दा पहिले पनि भजनीमा हामीले २६ वटा सुरक्षित आवास निर्माण गरेर हस्तान्तरण गरिसकेका छौँ’, उनले भन, ’चालु आर्थिक वर्षमा थप ४५ वटा आवासका लागि नगरपालिकासँग सम्झौता भइसकेको छ।’

सम्झौताअनुसार आगामी असार २० गतेभित्र सबै घर निर्माण सम्पन्न गरिसक्नुपर्ने छ। स्थानीय स्रोतले भ्याएसम्म बाढी प्रभावित, मुक्त कमैया, विपन्न दलित र एकल महिलालाई उच्च प्राथमिकतामा राखेर नगरपालिकाले आवास निर्माणको काम गर्दै आएको नगरप्रमुख केवल चौधरीको भनाइ छ। ’स्थानीय सरकार र गैरसरकारी संघसंस्थासँग समन्वय गरेर कैयौँ विपन्न वर्गका लागि हामीले आवास निर्माण गरेका छौँ र गरिरहेका छौँ’, उनी भन्छन्, ’सीमित स्रोतसाधनका बाबजुद पनि नागरिकलाई सरकार छ भन्ने अनुभूतिको प्रयास गरिरहेका छौँ।’

नेटवर्कले भने कैलालीमा मात्र एक सयभन्दा बढी आवास निर्माणमा स्थानीय तथा प्रदेश सरकारसँग समन्वय गरिसकेको छ। कैलाली र कञ्चनपुर गरी एकसय ६९ विपन्न परिवारका घर निर्माण भएको कार्यक्रम संयोजक आग्रीको भनाइ छ। उनका अनुसार कैलारी गाउँपालिकामा २७, घोडाघोडी नगरपालिकामा २२ र बर्दगोरिया गाउँपालिकामा १२ घर निर्माण गरेर हस्तान्तरण गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *