साझा अक्षर

बाढीका कारण बोगटान लोडेघाटको उर्वर भूमि मासिँदै

दीपक संगम विश्वकर्मा डोटी /सुदूरपश्चिमको पहाडी जिल्ला डोटीका विभिन्न स्थानहरू बर्सेनि बाढी र पहिरोको चपेटामा पर्ने गरेका छन्। त्यसमध्ये बोगटान फुडसिल गाउँपालिका-३ कानाचौरको पल्लाचौरस्थित लोडेघाट क्षेत्र बाढी तथा नदी कटानको कारण सबैभन्दा बढी प्रभावित भइरहेको छ।

लोडेघाट क्षेत्र परम्परागत रूपमा उर्वरभूमि मानिँदै आएको छ। यहाँको माटो धान, गहुँ, मकै, तरकारी तथा फलफूल उत्पादनका लागि उपयुक्त रहेको छ। यस क्षेत्रका किसानहरूको मुख्य पेशा कृषि नै हो। उनीहरू वर्षभरि यहीं उत्पादन हुने खाद्यान्नमा निर्भर रहन्छन्। तर, पछिल्ला केही वर्षयता सेती नदी र मेल्टी गाढाले गरेको कटानका कारण खेतबारी संकुचित हुँदै गएका छन्। यसले स्थानीय कृषकहरूको जीवनयापनमा गम्भीर असर पुर्याइरहेको छ।

लोडेघाट क्षेत्रमा किसानहरू परम्परागत रूपमा धान खेती गर्दै आएका छन्। यहाँ उत्पादन हुने धानले स्थानीयलाई ६ महिनादेखि वर्षभरि सम्म खाद्य सुरक्षाको प्रत्याभूति गर्दै आएको छ। यस्तै, यहाँ मकै, गहुँ, आलु, तोरीजस्ता अन्नबाली पनि राम्रो उत्पादन हुन्छ।तर, हरेक वर्ष मनसुन सुरु भएसँगै सेती नदीको जलस्तर बढ्ने गर्छ। त्यसैगरी, मेल्टी गाढा खोलामा आउने बाढीले खेतबारी बगाउने क्रम तीव्र हुँदै गएको छ।

स्थानीय कृषक पदम विश्वकर्मा भन्छन्, “हाम्रो पुर्खाले जोतेको खेत अहिले बिस्तारै खोलाले बगाएर लैजाँदै छ। पहिले जसोतसो जोगाउन सक्थ्यौं, तर अहिले बाढीको प्रभाव बढ्दै गइरहेको छ। हाम्रो मुख्य आम्दानीको स्रोत नै खेती हो। यो समस्या यस्तै रहे, अबको केही वर्षमा हामीसँग खेती गर्ने जमिन नै बाँकी रहने छैन।”

धर्मेन्द्र साउदको खेत पनि बाढीले बगाएको छ। उनी भन्छन्, “हाम्रो खेतबारी मेल्टी गाढा खोलाको छेउमै छ। यस वर्ष मात्र झण्डै आधा रोपनी खेत कटान भयो। पहिले सिँचाइका लागि यही खोलाको पानी प्रयोग गर्थ्यौं, तर अहिले यही खोलाले नै हाम्रो खेत मास्न थालेको छ।”

यस क्षेत्रमा विगतमा केही बाढी नियन्त्रणका प्रयासहरू गरिएका थिए। स्थानीय सरकारले नदी किनारमा अस्थायी रूपमा बाँस, बोरा, ढुंगाका तटबन्धहरू निर्माण गरे पनि ती प्रभावकारी हुन सकेनन्। केही वर्षअगाडि गाउँपालिकाले केही स्थानमा सानो पक्की पर्खाल निर्माण गरेको थियो। तर, ती संरचना कमजोर भएका कारण बाढीले भत्काइदियो।

स्थानीय शिवराज जोशी भन्छन्, “यदि दीर्घकालीन रूपमा बाढी रोकथामका उपायहरू लागू गरिएन भने केही वर्षमै यहाँ खेतीयोग्य जमिन समाप्त हुनेछ। सिँचाइका लागि खोलाको पानी चाहिन्छ, तर खोलाकै बाढीले खेत मास्ने हो भने किसानहरू मर्कामा पर्ने नै भए। स्थायी तटबन्ध निर्माण गर्न सकेमात्रै यो समस्याको समाधान हुन सक्छ।”

बाढी नियन्त्रणका लागि दीर्घकालीन योजना आवश्यक भए पनि हालसम्म कुनै ठोस पहल भएको छैन। स्थानीय किसानहरूले सरकारलाई पटक–पटक ध्यानाकर्षण गराए पनि उनीहरूको माग सम्बोधन भएको छैन।

कृषि विज्ञहरूका अनुसार, बाढी नियन्त्रणका लागि स्थानीय भूगोलको अध्ययन गरी उपयुक्त प्रविधि अपनाउनुपर्ने हुन्छ। तटबन्ध निर्माणका साथै, बाढीको बहाव परिवर्तन गर्न उपयुक्त संरचनाहरू बनाउनु जरुरी छ। साथै, बाढीको प्रभावलाई कम गर्न खोलाको छेउछाउमा वृक्षारोपण, बायोइन्जिनियरिङ प्रविधि, र वैज्ञानिक भू-संरक्षण विधिहरू प्रयोग गरिनुपर्छ।

स्थानीयवासीहरूले भने बोगटान फुडसिल गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, र प्रदेश सरकारलाई यस समस्याप्रति गम्भीर बन्न आग्रह गरेका छन्। उनीहरू स्थायी तटबन्ध निर्माण र बाढी नियन्त्रणका लागि दीर्घकालीन योजनाको माग गरिरहेका छन्।

यदि समयमा नै समाधान खोजिएन भने, लोडेघाट क्षेत्रको उर्वर भूमि मासिएर यहाँका किसानहरू विस्थापित हुने सम्भावना बढ्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *