कैलाली। भजनी नगरपालिका-५ स्थित कौवाखेडा सीमा इलाकाबाट शनिवार साँझ सशस्त्र प्रहरीले एक करोडभन्दा बढीको सुन, चाँदी, नगद र अन्य सामग्रीसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ परेका व्यक्तिहरूमा सुर्खेतको चौकुनी गाउँपालिका-१० का ३६ वर्षीय महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका-१ का ३१ वर्षीय हर्कबहादुर बिक, र पञ्चपुरी नगरपालिका-११ का ३२ वर्षीय महेश सुनार रहेका छन्।
सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण कैलाली मातहतको बोर्डर आउट पोस्ट (बीओपी) पगियापसारले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउका क्रममा बरामद सामग्री सशस्त्र प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूको साथबाट विभिन्न बहुमूल्य वस्तु र नगद बरामद गरेको छ। ती सामग्रीमा समावेश छन्:
सुन: ६२० ग्राम, अनुमानित मूल्य ८० लाख ७९ हजार ५६१ रुपैयाँ
चाँदी: ८ किलो ९१४ ग्राम, अनुमानित मूल्य १५ लाख २८ हजार ४६० रुपैयाँ
भारतीय रुपैयाँ: ६ लाख ११ हजार ६२५
अन्य विदेशी मुद्रा: साउदी रियाल
मोबाइल सेट: ४ थान
चाँदीका लेप लगाइएका भाँडाकुँडा
बरामद सामानहरूको कुल मूल्य एक करोडभन्दा बढी रहेको अनुमान गरिएको छ। सशस्त्र प्रहरीका अनुसार आवश्यक अनुसन्धानका लागि पक्राउ परेकाहरूलाई सम्बन्धित निकायमा बुझाइएको छ।