भजनी, कैलाली । कैलालीको भजनी नगरपालिका–५ लालबोझीस्थित पृथ्वीपुर छोटी भन्सार कार्यालयलाई स्तरोन्नतिसहित पुनःसञ्चालन गर्न माग गर्दै भजनी नगरपालिका ,बर्दगोरिय गाउँपालिका , जोशीपुर गाउँपालिका र जानकी गाउँपालिका चार स्थानीय तहका जनप्रतिनिधिले सरकारसमक्ष ज्ञापनपत्र बुझाएका छन्। 
जनप्रतिनिधिहरूले माननीय केपी खनाल र कोमल ज्ञवालीसमक्ष संयुक्त रूपमा ज्ञापनपत्र बुझाउँदै लामो समयदेखि सञ्चालनमा रहेको भन्सार बन्द हुँदा ३ लाखभन्दा बढी नागरिक, किसान, व्यापारी तथा उद्योगी प्रभावित भएको बर्दगोरिय गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले बताउनुभयो।
स्थानीयलाई सहज सेवा उपलब्ध गराउने, राजस्व वृद्धि गर्ने तथा अवैध कारोबार नियन्त्रण गर्न पृथ्वीपुर छोटी भन्सार पुनःसञ्चालन आवश्यक रहेको जोशीपुर गाउँपालिका उपाध्यक्ष रेखा कठरियाले बताउनु भयो।
भन्सार स्तरोन्नतिका लागि आवश्यक जग्गा स्थानीय तहबाट निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै जनप्रतिनिधिहरूले पृथ्वीपुर छोटी भन्सारलाई स्तरोन्नतिसहित मूल भन्सार कार्यालयकै रूपमा सञ्चालन गर्न सरकारसँग माग गरेका छन्।
पृथ्वीपुर छोटी भन्सार पुनःसञ्चालन गर्न चार स्थानीय तहका जनप्रतिनिधिको माग