भजनी, कैलाली – कैलालीको भजनी नगरपालिका–२ र ३, रजवारास्थित राधाकृष्ण सामुदायिक वन उपभोक्ता समूहले वृक्षारोपण अभियानअन्तर्गत विभिन्न प्रजातिका बिरुवा रोपण गरेको छ।सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सन्दीप खड्काका अनुसार वातावरण संरक्षण, जैविक विविधताको प्रवर्द्धन तथा हरियाली विस्तार गर्ने उद्देश्यले सिसम, लिप्टिस, सागौन र खयर लगायतका बिरुवा रोपिएको हो।
अध्यक्ष खड्काले सामुदायिक वनको संरक्षण तथा दिगो व्यवस्थापनमा स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिनुभयो।यसैबीच, सामुदायिक वन समन्वय समिति भजनीका सदस्य राहुल बुढाले सब-डिभिजन वन कार्यालय भजनी अन्तर्गत रहेका १५ वटा सामुदायिक वन उपभोक्ता समूहहरूले समेत विभिन्न प्रजातिका बिरुवा रोपण कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो।
वृक्षारोपण कार्यक्रमले वातावरणीय सन्तुलन कायम राख्न, वन क्षेत्रको विस्तार गर्न तथा स्थानीय स्तरमा हरियाली प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।