Skip to main content

Bhajani Today

बाढीजन्य विपद्को पूर्वतयारीमा भजनी नगरपालिका

भजनी २०८३ साउन १। बाढी तथा डुबानको उच्च जोखिममा रहेको भजनी नगरपालिकाले विपद्को समयमा खोज, उद्धार तथा प्रतिकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले चार सुरक्षा निकायलाई रबर रेस्क्यु बोटसहित विपद् उद्धार सामग्री हस्तान्तरण गरेको छ।

भजनी नगरपालिकाले बि.ओ.पि. गुलरियाघाट, बि.ओ.पि. पगियापसार, बि.ओ.पि. कुसुमघाट तथा इलाका प्रहरी कार्यालय भजनीलाई प्रत्येक निकायलाई एक/एक थान रबर रेस्क्यु बोट, लाइफ ज्याकेट, गमबुट, उद्धार डोरी (रोप) तथा उद्धार कार्यमा आवश्यक सम्पूर्ण सामग्रीसहितको सेट हस्तान्तरण गरेको हो।कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख केवल चौधरीले भजनी नगरपालिका बर्सेनि बाढी र डुबानबाट प्रभावित हुने भएकाले विपद् आउनुअघि नै प्रभावकारी पूर्वतयारी गर्नु स्थानीय सरकारको प्राथमिक दायित्व भएको बताउनुभयो। उहाँले सुरक्षा निकायलाई आवश्यक उद्धार सामग्री उपलब्ध गराएर विपद्को समयमा नागरिकको जीवन रक्षा, शीघ्र उद्धार तथा जनधनको क्षति न्यूनीकरणमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। नगरपालिकाले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखी आवश्यक स्रोत–साधनको व्यवस्थापनलाई निरन्तरता दिने बताउनुभयो।

उपप्रमुख राजु तिरुवाले विपद् व्यवस्थापनमा स्थानीय सरकार, सुरक्षा निकाय र समुदायबीचको सहकार्य अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै उपलब्ध गराइएका सामग्रीले बाढी तथा डुबानका बेला उद्धार कार्यलाई अझ प्रभावकारी बनाउने बताउनुभयो।

प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले उद्धार सामग्रीको नियमित संरक्षण, मर्मतसम्भार र आवश्यक पर्दा तत्काल परिचालन गर्न आग्रह गर्दै विपद् व्यवस्थापनमा पूर्वतयारी नै सफल प्रतिकार्यको आधार भएको बताउनुभयो।वन, वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख विष्णु राज न्यौपानेले भजनी नगरपालिकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई प्राथमिकतामा राखी पूर्वतयारी, उद्धार सामग्री व्यवस्थापन, क्षमता विकास तथा सुरक्षा निकायसँगको समन्वयलाई निरन्तर सुदृढ गर्दै आएको जानकारी दिनुभयो। उहाँले नदीजन्य बाढी, डुबान तथा अन्य आकस्मिक विपद्का घटनामा तीव्र र प्रभावकारी उद्धार कार्य सञ्चालन गर्न यस्ता सामग्री अत्यन्त उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो।

सामग्री ग्रहण गर्दै बि.ओ.पि. गुलरियाघाट, बि.ओ.पि. पगियापसार, बि.ओ.पि. कुसुमघाट तथा इलाका प्रहरी कार्यालय भजनीका प्रतिनिधिहरूले प्राप्त सामग्रीको जिम्मेवारीपूर्वक संरक्षण तथा विपद्को समयमा अधिकतम उपयोग गरी नागरिकको जीवन रक्षा र उद्धार कार्यमा समर्पित रहने प्रतिबद्धता जनाए।भजनी नगरपालिका कैलाली जिल्लाको बाढी तथा डुबानबाट सबैभन्दा बढी प्रभावित स्थानीय तहमध्ये एक भएकाले नगरपालिकाले विपद् पूर्वतयारी, खोज तथा उद्धार क्षमता अभिवृद्धि, आवश्यक उपकरण व्यवस्थापन तथा सुरक्षा निकायसँगको समन्वयलाई प्राथमिकताका साथ अघि बढाउँदै आएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *