भजनी, २४ असार/ कैलाली बाढी तथा डुबानको उच्च जोखिममा रहेको भजनी नगरपालिकामा आधुनिक वर्षा मापन केन्द्र र ताप मापन केन्द्र स्थापना गरिएको छ। स्थानीय स्तरमा मौसमसम्बन्धी भरपर्दो तथ्याङ्क सङ्कलन, बाढीको पूर्वानुमान तथा विपद् जोखिम न्यूनीकरणलाई थप प्रभावकारी बनाउने उद्देश्यले केन्द्र स्थापना गरिएको हो।नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलालीको रु. ९ लाख ८० हजार आर्थिक सहयोग, जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाको प्राविधिक सहयोग तथा भजनी नगरपालिकाको समन्वय र सहकार्यमा केन्द्र स्थापना सम्पन्न भएको हो।
भजनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले आधुनिक मौसम मापन प्रणालीले स्थानीय सरकारलाई तथ्यमा आधारित निर्णय लिन, विपद्को पूर्वतयारी गर्न तथा नागरिकको जीवन र सम्पत्तिको सुरक्षा गर्न महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो। विपद् व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन प्रविधिको उपयोगलाई निरन्तर प्राथमिकतामा राखिने उल्लेख गर्नुभयो।
वन, वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख विष्णु राज न्यौपानेका अनुसार भजनी नगरपालिका बर्सेनि बाढी तथा डुबानबाट प्रभावित हुने भएकाले स्थानीय स्तरमै वास्तविक वर्षा र तापक्रमको तथ्याङ्क उपलब्ध हुनु अत्यन्त महत्वपूर्ण उपलब्धि हो। उहाँले केन्द्रबाट प्राप्त सूचनाले बाढी पूर्वसूचना प्रणालीलाई थप विश्वसनीय बनाउने, उद्धार तथा राहत कार्यलाई समयमै परिचालन गर्न सहयोग पुग्ने तथा कृषि, वातावरण संरक्षण र विपद् जोखिम न्यूनीकरणका कार्यक्रमहरूलाई वैज्ञानिक आधार प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।
केन्द्र सञ्चालनमा आएसँगै वर्षा र तापक्रमसम्बन्धी तथ्याङ्क नियमित रूपमा सङ्कलन तथा विश्लेषण गरिनेछ। यसबाट स्थानीय समुदाय, सरोकारवाला निकाय तथा सुरक्षा निकायले समयमै सूचना प्राप्त गरी सम्भावित विपद्को जोखिम न्यूनीकरणमा प्रभावकारी तयारी गर्न सक्ने अपेक्षा गरिएको छ।भजनी नगरपालिकाले विपद् व्यवस्थापनलाई प्रविधिमैत्री, तथ्यमा आधारित र नागरिकमुखी बनाउने अभियानअन्तर्गत आगामी दिनमा पनि यस्ता पूर्वाधार तथा पूर्वसूचना प्रणालीको विस्तारलाई निरन्तरता दिने जनाएको छ।