भजनी, कैलाली । भजनी नगरपालिकाभित्र सञ्चालित संघीय, प्रदेश तथा स्थानीय तहका विभिन्न विकास योजनाको स्थलगत अनुगमन गरिएको छ। नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा प्राविधिक टोलीसहितको संयुक्त टोलीले वडा नं. १, २ र ३ मा रहेका योजनाहरूको अनुगमन गरेको हो।
अनुगमनका क्रममा निर्माणाधीन तथा सम्पन्न योजनाको भौतिक प्रगति, निर्माण गुणस्तर, लागत तथा कार्यान्वयन अवस्थाबारे निरीक्षण गरिएको थियो। टोलीले सम्बन्धित उपभोक्ता समिति, निर्माण व्यवसायी तथा सरोकारवालासँग छलफल गर्दै तोकिएको मापदण्डअनुसार गुणस्तरीय रूपमा काम सम्पन्न गर्न निर्देशन दिएको जनाएको छ।
नगर उपप्रमुखले विकास निर्माणका कामहरू पारदर्शी, प्रभावकारी र गुणस्तरीय बनाउन नियमित अनुगमन आवश्यक रहेको बताउँदै समयमै योजना सम्पन्न गरी नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने गरी काम गर्न आग्रह गर्नुभयो।
प्रमुख प्रशासकीय अधिकृतले योजनाको प्रभावकारी कार्यान्वयन र सार्वजनिक स्रोत–साधनको सदुपयोग सुनिश्चित गर्न नगरपालिकाले निरन्तर अनुगमनलाई प्राथमिकता दिएको बताउनु भयो।अनुगमन टोलीले केही योजनास्थलमा आवश्यक सुधारका लागि सुझावसमेत दिएको थियो।