भजनी नगरपालिका वडा नम्बर ५ स्थित कर्मेश्वर माध्यमिक विद्यालय, कुटीमा बालबालिका लक्षित स्थानीय तहको बजेट, नीति तथा कार्यक्रम विषयक संवाद कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम विकासका लागि युवा एक्यबद्धता (यार्ड) धनगढीले वल्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा आयोजना गरेको हो।
कार्यक्रममा भजनी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष केशवबहादुर बुढा, वडा सदस्य राजेन्द्रप्रसाद खनाल, वडा सचिव सञ्जीवबहादुर सिंह, समाजसेवी शेरबहादुर बोहरा, कर्वेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक लिलाराम विश्वकर्मा, पत्रकार खेम पाण्डे, अभिभावक तथा बालबालिकाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
संवाद कार्यक्रममा सहभागी बालबालिका, अभिभावक तथा सरोकारवालाहरूले वडा नम्बर ५ मा रहेका विभिन्न बालमैत्री तथा शैक्षिक समस्याहरू उजागर गरेका थिए। उनीहरूले बर्सेनि दोहोरिने बाढीको समस्या, कर्मेश्वर माध्यमिक विद्यालयमा गणित तथा विज्ञान विषयका शिक्षक अभावका कारण गुणस्तरीय पढाइ हुन नसकेको अवस्था, स्थानीय पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन हुन नसकेको विषय, विद्यालयमा शौचालय तथा खानेपानी र सरसफाइका समस्या तथा विद्यालयको खाली जग्गामा विद्यालय करेसाबारी कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।

सहभागीहरूले उठाएका प्रश्न, जिज्ञासा तथा गुनासाहरूको जवाफ दिँदै वडा अध्यक्ष केशवबहादुर बुढाले बालबालिकासँग सम्बन्धित समस्याहरू बहुआयामिक र जटिल रहेकाले यसको समाधानका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताउनुभयो। उहाँले विगतमा आफ्नो कार्यकालमा विभिन्न संघसंस्थाको सहयोगमा कर्मेश्वर माध्यमिक विद्यालयमा दुईवटा शौचालय निर्माण गरिएको जानकारी दिनुभयो।
वडा अध्यक्ष बुढाले बालबालिकाको शैक्षिक तथा व्यक्तिगत विकासलाई ध्यानमा राख्दै अभिभावकीय कक्षा लगायतका विभिन्न कार्यक्रम वडा कार्यालयमार्फत सञ्चालन गरिएको उल्लेख गर्नुभयो। साथै आगामी दिनमा विद्यार्थीहरूले उठाएका मागलाई सम्बोधन गर्दै विद्यालय करेसाबारी कार्यक्रम सञ्चालन तथा आवश्यक शिक्षक दरबन्दी व्यवस्थापनका लागि नगरपालिकासँग आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा बालबालिकाहरूले स्थानीय सरकारको योजना तथा बजेट निर्माण प्रक्रियामा आफ्ना आवश्यकता र सरोकारलाई समावेश गर्नुपर्नेमा जोड दिएका थिए। सहभागीहरूले बालबालिकाको आवाजलाई स्थानीय नीति तथा कार्यक्रम निर्माणमा स्थान दिन सके मात्रै बालमैत्री पालिका घोषणा गर्न सकिने धारणा व्यक्त गरेका थिए।
यार्ड धनगढीले वल्ड भिजन इन्टरनेसनल नेपालको सहयोगमा सञ्चालित बाल समृद्धिका लागि एकीकृत विकास परियोजना (हातेमालो कार्यक्रम) अन्तर्गत कैलालीका टिकापुर, भजनी, घोडाघोडी, गौरीगंगा नगरपालिका तथा कैलारी गाउँपालिकामा बाल समृद्धिसँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।कार्यक्रमको सहजीकरण सामुदायिक परिचालक रतनलाल चौधरीले गर्नुभएको थियो।