साझा अक्षर

पूर्ण खोप पालिका सुनिश्चितता तथा दिगोपनाका लागि भजनीको प्रतिबद्धता

भजनी, कैलाली । भजनी नगरपालिकाले पूर्ण खोप पालिका सुनिश्चितता तथा दिगोपना कायम राख्न दृढ प्रतिबद्धता व्यक्त गरेको छ। नेपाल सरकारको राष्ट्रिय खोप तालिका अनुसार लक्षित समूहका बालबालिकालाई गुणस्तरीय खोप सेवा उपलब्ध गराउँदै पूर्ण खोप पालिका घोषणा भएको भजनीले आगामी वर्षहरूमा समेत उक्त उपलब्धिलाई निरन्तरता दिने तथा खोप कार्यक्रमका लागि आवश्यक लगानी सुनिश्चित गर्ने जनाएको हो।

आइतबार आयोजित पूर्ण खोप पालिका सुनिश्चितता तथा दिगोपना कार्यक्रममा नगर प्रमुख एवं पालिका खोप समन्वय समिति संयोजक केवल चौधरी, जिल्ला समन्वय समिति प्रमुख एवं जिल्ला खोप समन्वय समिति संयोजक टीका कुमारी चौधरी (भुल), प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्ट, वडा अध्यक्षहरू, स्वास्थ्य कार्यालय कैलालीका परिवार नियोजन अधिकृत ओलट नारायण चापागाईं,स्वास्थ्यकर्मी, जनप्रतिनिधि,सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा नगर प्रमुख चौधरीले पूर्ण खोप सुनिश्चितता स्वास्थ्य क्षेत्रको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै यसको दिगोपनाका लागि नगरपालिका निरन्तर प्रतिबद्ध रहने बताए। उनले खोपबाट बच्न सकिने रोगहरूको नियन्त्रण तथा बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि नियमित खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।

प्रमुख प्रशासकीय अधिकृत भोज राज भट्टले कार्यक्रममा बोल्दै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना अभियानलाई सफल बनाउन सबै सरोकारवालाको साझा जिम्मेवारी रहेको बताउनु भयो।जिल्ला समन्वय समिति प्रमुख एवं जिल्ला खोप समन्वय समिति संयोजक टिका कुमारी चौधरीले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कायम राख्न सबै सरोकारवाला निकायको निरन्तर समन्वय र प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो। उहाँले बालबालिकाले समयमै सबै खोप प्राप्त गर्ने वातावरण सुनिश्चित गर्न स्थानीय तह, स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा अभिभावकबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो।

सोही अवसरमा अनिवार्य अवकाश प्राप्त गरेका ६ जना महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई जनही एक लाख रुपैयाँ नगदसहित सम्मान तथा बिदाइ गरिएको छ।

स्वास्थ्य कार्यालय कैलालीका परिवार नियोजन अधिकृत ओलट नारायण चापागाईंले भजनी नगरपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनालाई दीर्घकालसम्म कायम राख्न आवश्यक स्रोत, साधन तथा बजेट व्यवस्थापनमा प्राथमिकता दिन समेत आग्रह गर्नुभयो। साथै नौ वटै आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुखहरुलाई सम्मान गरिएको थियो।कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख तथा पालिका खोप समन्वय समितिका सदस्य सचिव कैलाश चौधरी र सहसंयोजक लक्ष्मी चौधरीले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *