साझा अक्षर

मल अभावले भारतीय बजार धाउन बाध्य किसान, सशस्त्रले समातेपछि भजनीमा आक्रोश

भजनी७ जेठ/ कैलालीको भजनी नगरपालिका क्षेत्रमा रासायनिक मलको अभाव चुलिँदै गएपछि स्थानीय किसानहरू भारतबाट मल ल्याउन बाध्य भएका छन्। यही क्रममा गुलरिया सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरीले विभिन्न किसानहरूले ल्याउँदै गरेको ३९ बोरा मल नियन्त्रणमा लिएपछि किसानहरू आक्रोशित बनेका छन्।

भजनी नगरपालिकाका विभिन्न वडाबाट भारतीय बजार पुगेर एक–दुई बोरा मल खरिद गरी ल्याउँदै गरेका किसानहरूको मल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो। मल नियन्त्रणमा लिएपछि किसानहरू गुलरिया स्थित सशस्त्र प्रहरी क्याम्पमा पुगेर गुनासो पोखेका थिए।

घटनापछि भजनी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष केशव बुढा, स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा पत्रकारहरू समेत सशस्त्र प्रहरी क्याम्प पुगेका थिए। उनीहरूले किसानहरूले आफ्नो खेतीका लागि ल्याएको मल भएकाले सरकारले सहज रूपमा छोड्नुपर्ने माग गरेका छन्।

स्थानीय किसान इन्द्र यादवले अहिले चैते धान खेतीको समय भएकाले मल अत्यावश्यक रहेको बताए। उनले भजनी क्षेत्रमा मल उपलब्ध नभएकाले रहरले नभई बाध्यताले भारतबाट मल ल्याउनुपरेको गुनासो गरे।भजनी नगरपालिका क्षेत्रमा किसानहरूले व्यापक रूपमा धान खेती गर्दै आएका छन्। तर समयमै मल उपलब्ध नहुँदा किसानहरू सीमा पारीको बजारमा निर्भर हुनुपर्ने अवस्था सिर्जना भएको स्थानीयहरूको भनाइ छ।

मल नियन्त्रणमा लिएपछि सशस्त्र प्रहरी र स्थानीय जनप्रतिनिधिबीच छलफल समेत भएको थियो। बीओपीमा भएको छलफलपछि सशस्त्र प्रहरीले किसानहरूको पहिचान गरी आवश्यक प्रक्रिया पूरा गरेर मल छोड्ने सहमति भएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *