भजनी१३ जेठ/६४ बिघा जग्गाको ६३ लाख ठेक्का रकम नउठ्दा शिक्षकलाई तलब खुवाउनै समस्या महुन्याल माध्यमिक विद्यालय भजनी आर्थिक संकटमा परेको छ। विद्यालयको स्वामित्वमा रहेको ६४ बिघा जग्गाको ठेक्का रकम लामो समयसम्म नउठ्दा विद्यालय सञ्चालनमै समस्या देखिन थालेको हो।
विद्यालयले १० वर्षे सम्झौता अन्तर्गत ठेक्कामा दिएको जग्गाबाट गत आर्थिक वर्षको २७ लाख रुपैयाँ र चालु आर्थिक वर्षको ३६ लाख रुपैयाँ गरी कुल ६३ लाख रुपैयाँ पाउन बाँकी रहेको जनाएको छ। तर, पटक–पटक ताकेता गर्दा पनि हालसम्म रकम उठ्न नसकेको विद्यालय प्रशासनको भनाइ छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र प्रसाद जैशीका अनुसार ठेकेदारलाई निरन्तर पत्राचार र मौखिक ताकेता गरिए पनि रकम बुझाउने विषयमा बेवास्ता हुँदै आएको छ। “विद्यालयको आर्थिक अवस्था कमजोर बन्दै गएको छ, तर ठेकेदार पक्षले अझै जिम्मेवारी पूरा गरेको छैन,” उनले बताए।
उक्त जमिनमा भारतीय नागरिक अमृत सिंह पाल ले लिप्टिस र उखु खेती गर्दै आएका छन्। उनले रकम बुझाउने आश्वासन दिएको भए पनि कहिले भुक्तानी गर्ने भन्ने स्पष्ट नभएको विद्यालय स्रोतले जनाएको छ।
विद्यालयका प्रधानाध्यापक विद्या भट्ट ले विद्यालयको मुख्य आम्दानी स्रोत नै रोकिँदा निजी स्रोतका शिक्षकहरूलाई तलब खुवाउन तथा दैनिक प्रशासनिक खर्च व्यवस्थापन गर्न कठिनाइ भइरहेको जानकारी दिए।ठेक्का रकम नउठ्दा विद्यालयको शैक्षिक गतिविधि र व्यवस्थापनमा प्रत्यक्ष असर पर्न थालेको भन्दै स्थानीय सरोकारवालाले सम्बन्धित निकायलाई तत्काल पहल गर्न आग्रह गरेका छन्। विद्यालयको आर्थिक संकट समाधान नभए आगामी दिनमा पठनपाठनसमेत प्रभावित हुने चिन्ता व्यक्त गरिएको छ।