साझा अक्षर

पोषण प्रदर्शनी मेला–२०८३” भजनी नगरपालिका–७ मा सम्पन्न

कैलाली । भजनी नगरपालिकाको आयोजना तथा CARE Nepal, iDE र YAC Nepal सँगको साझेदारीमा पोषण सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले “पोषण प्रदर्शनी मेला–२०८३” भजनी नगरपालिका–७ मा सम्पन्न गरिएको छ ।

मेलामा स्थानीय स्तरमा उपलब्ध पौष्टिक खाद्यवस्तु, सन्तुलित आहार, बालबालिका तथा गर्भवती महिलाको पोषण व्यवस्थापन लगायत विषयमा जानकारीमूलक प्रदर्शनी राखिएको थियो । कार्यक्रममा स्वास्थ्यकर्मी, महिला समूह, आमा समूह, विद्यार्थी तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रदर्शनीमा विभिन्न स्टलमार्फत पोषणयुक्त खाना, फलफूल, तरकारी, अन्नबाली तथा स्वास्थ्यसम्बन्धी जानकारीमूलक सामग्री प्रदर्शन गरिएको थियो । सहभागीहरूले स्वस्थ खानपान, सरसफाइ, बाल पोषण तथा पोषणमैत्री जीवनशैली सम्बन्धी उपयोगी जानकारी प्राप्त गरेका थिए ।

कार्यक्रममा बोल्दै भजनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले पोषणयुक्त खानपान र स्वस्थ जीवनशैलीको विकासका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । उहाँले स्थानीय स्तरमा उत्पादन हुने खाद्यवस्तुको प्रयोग बढाउँदै कुपोषण न्यूनीकरणमा सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।

त्यसैगरी, उपप्रमुख राजु तिरुवाले पोषण सम्बन्धी सचेतना अभिवृद्धिका लागि समुदायस्तरमा निरन्तर अभियान सञ्चालन गरिनुपर्ने बताउनुभयो । उहाँले विशेषगरी बालबालिका, गर्भवती महिला तथा सुत्केरी आमाको पोषणमा ध्यान दिनुपर्नेमा जोड दिँदै स्वस्थ समाज निर्माणका लागि सन्तुलित आहार अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा पोषण प्रदर्शनी मेलाको बारेमा सहजीकरण स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले गर्नु भएको थियो।आयोजकका अनुसार मेलामार्फत पोषणसम्बन्धी व्यवहार परिवर्तन, स्वस्थ खानपानको प्रवर्द्धन तथा कुपोषण न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै स्थानीय उत्पादनको प्रयोग र पोषणयुक्त खानाको महत्वबारे सहभागीलाई जानकारी गराइएको थियो । उत्कृष्ट प्रदर्शनी गर्ने समूह तथा सहभागीहरूलाई सम्मान समेत गरिएको आयोजकले जनाएको छ ।कार्यक्रम सञ्चालन धर्मेन्द्र विष्टले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *