भजनी/सशस्त्र प्रहरीको खक्रौला गुल्मका प्रमुखसहितका सशस्त्र प्रहरी कर्मचारी हेटक्वाटर तानिएका छन् ।गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रदीप पौडेलसहितका सशस्त्रलाई छानबिनका लागि हेटक्वाटर तानिएको हो ।
गुल्ममा ३३ जना कार्यरत थिए ।विदामा रहेका बाहेक घटनाको सयममा गुल्ममा कार्यरत सबैलाई हेटक्वाटरले छानबिनका लागि तानेको सुदूरपश्चिमका निमित्त प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) दिगविजय सुवेदीले जानकारी दिए ।
उनकाअनुसार हेटक्वाटरले डीएसपी देवराज विष्टलाई खक्रौला पठाएको छ । विष्ट सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोमा कार्यरत थिए । सशस्त्र प्रहरीको ३४ नम्बर गण धनगढीले पनि सशस्त्र प्रहरी निरीक्षक सुर्यप्रकाश पन्तलाई पनि खक्रौला पठाएको छ ।
सशस्त्र प्रहरीले टीकापुरका एक व्यवसायीको बिलजिक भएको सामान नियन्त्रणमा लिएपछि विवाद भएको थियो । सोही विषयमा टीकापुर उद्योग वाणिज्य संघ र सशस्त्र प्रहरीबीच छलफल चलिरहेका बेला गुल्मभित्रै डीएसपीका सशस्त्र प्रहरीमाथि एक समूहले आक्रमण गरेको थियो ।
सशस्त्रमाथि आक्रमण गरेको आरोपमा टीकापुर नगरपालिका—९ का रामबहादुर साउदलाई प्रहरीले पक्राउ गरेको छ भने अन्यको खोजी भइरहेको जनाएको छ ।