भजनी नगरपालिका, कैलालीमा विद्यालय केन्द्रित एच.पि.भी. खोप अभियान–२०८२ सफलतापूर्वक सञ्चालन गर्ने उद्देश्यले अन्तरक्रिया तथा गोष्ठी कार्यक्रम सम्पन्न भएको छ। पूर्ण खोप लगाई बालबालिकालाई विभिन्न रोगबाट सुरक्षित बनाउने राष्ट्रिय अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नगरपालिका स्तरीय खोप समन्वय समिति तथा सम्बन्धित सरोकारवालाहरूको सहभागितामा कार्यक्रम आयोजना गरिएको हो।
भजनी नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रम भजनी नगरपालिकामा सम्पन्न भएको थियो। कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो। गोष्ठीमा एच.पि.भी. खोपको महत्व, यसको सुरक्षा, प्रभावकारिता तथा लक्षित उमेर समूहका बालिकाहरूलाई खोप लगाउँदा दीर्घकालीन रूपमा पाठेघरको क्यान्सरजस्ता गम्भीर रोगबाट जोगाउन सकिने विषयमा विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत भोज राज भट्टले एच.पि.भी. खोप सुरक्षित, प्रभावकारी र निःशुल्क उपलब्ध गराइने खोप भएको बताउँदै कुनै पनि भ्रममा नपरी सबै अभिभावकले आफ्ना छोरीहरूलाई खोप लगाउन आग्रह गरेका थिए। खोपले जीवन रक्षा गर्ने भएकाले विद्यालय, अभिभावक र समुदायबीच सहकार्य आवश्यक रहेको बताए।
त्यसैगरी अन्तरक्रियामा खोप अभियान सञ्चालनका क्रममा देखिन सक्ने चुनौती, विद्यालयस्तरमा समन्वय, अभिलेख व्यवस्थापन तथा समुदायमा जनचेतना अभिवृद्धि गर्ने विषयमा समेत सुझावहरू आदान–प्रदान गरिएको थियो। कार्यक्रमले खोप अभियानलाई सफल बनाउन सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।
उक्त एच.पि.भी. खोप अभियान अन्तर्गत लक्षित विद्यालयहरूमा तोकिएको मितिमा खोप कार्यक्रम सञ्चालन गरिने धनौरा आधारभूत स्वास्थ्य केन्द्र प्रमुख लक्ष्मी प्रसाद जोशीले जानकारी दिनु भयो। बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि खोप अभियानमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको आयोजक पक्षले जोड दिएको छ।कार्यक्रमको सहजीकरण सह संयोजक लक्ष्मी चौधरी,स्वास्थ्य कर्मचारी छत्र वहादुर बुढा र चेतराज ओझाले गर्नु भएको थियो।