साझा अक्षर

भजनी नगरपालिकामा संचालित पोषण परियोजनाका गतिविधि अनुगमन 

कैलालीको भजनीमा पालिका स्तरीय पोषण परियोजना सल्लाहकार समितिद्वारा पोषण परियोजनाका गतिविधि अनुगमन सम्पन्न भएको छ।

CARE Nepal, iDE र MAP International को आर्थिक सहयोग र याक नेपालको (परिवर्तनका लागि कार्यरत युवा समूह नेपाल) द्वारा संचालित पोषण परियोजना तथा भजनी नगरपालिकाको समन्वयमा भजनी नगरपालिकामा आमा र बच्चाको पोषणमा सुधार ल्याउने उद्देश्यले संचालन भएको पोषण परियोजनाको अनुगमन गरिएको हो।

शुक्रबार भजनी नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र परियोजनाको संयुक्त टोलीले नगरपालिकाका विभिन्न वडामा संचालनमा रहेका स्वास्थ्य आमा समूहको अनुगमन गरेको थियो। अनुगमन टोलीले नगरपालिकाको वडा नम्बर ५ र ७ मा संचालनमा रहेको सामुदायिक सिकाई केन्द्र लालबोझी र चमेली स्वास्थ्य आमा समूह, वडा नम्बर ७ मा रहेको शहरी स्वास्थ्य केन्द्र चर्रा र लालबोझी स्वास्थ्य चौकीको समेत अनुगमन गरेको थियो।

पोषण परियोजना अन्तर्गत पोषण व्यवहारमा परिवर्तन, स्तनपान, आफूले खानेकुरा कसरी मिलाएर खाने, लिटो जाउलो आफ्नै घरको सामग्री प्रयोग गरेर कसरी बनाउने, आफू पनि स्वस्थ रहने र अरूलाई पनि स्वस्थ बनाउने, अर्गानिक तरिकाले खेतीबारी गर्ने कुराहरू सिकेको स्वास्थ्य आमा समूहकी सदस्य जयन्ती चौधरीले बताइन्। यसैसँगै बच्चा जन्मिएपछि सुत्केरीले के खाने, कसरी खाने, काम कति गर्ने, आराम कति गर्ने, स्तनपान कसरी गर्ने, बच्चा खाना खाने भएपछि के खुवाउने, कसरी खुवाउने, कति खुवाउने लगायतका कुरा सिक्न पाएको चौधरीले बताइन्।

नगर प्रमुख केवल चौधरीले हजार दिने आमा र प्रजनन क्षमता भएका दिदी बहिनीहरूलाई कुपोषणबाट जोगाउनको लागि पौष्टिक आहार व्यवहारको आनीबानी परिवर्तनका लागि परियोजनाले राम्रो काम गरेको र पालिकासँग पनि समन्वयमा काम गरिरहेको बताए।

अनुगमनमा पालिका स्तरीय टोलीसँगै स्वास्थ्य कार्यालय कैलालीका पोषण फोकल व्यक्ति रमा गिरी सहितको टिम पनि सहभागी भएर एकीकृत रूपमा अनुगमन गरिएको थियो।

स्वास्थ्य कार्यालय कैलालीका पोषण फोकल व्यक्ति रमा गिरीले पोषण परियोजनाले सिकाएका कुराहरूलाई आफूले दैनिक रूपमा लागू गर्नुपर्ने र परियोजना आएको बेला मात्र नभएर सधैं असल खानपान र सरसफाईलाई ध्यान दिनुपर्ने बताउनुभयो। साथै उहाँले पोषण परियोजनाले यस भजनी नगरपालिकामा समुदायस्तरमा निकै राम्रो काम गरेको बताउनुभयो।

आमा समूहमा जोडिएका दिदीबहिनीहरूले आफू र आफ्ना परिवारलाई उत्पादनसँग जोडेका छन्। यससँगै परियोजनासँग जोडिएका परिवार आर्थिक रूपमा पनि सबल, सक्षम हुँदै आत्मनिर्भर हुने अवस्थातिर उन्मुख भएको नगर प्रमुख चौधरीको बुझाइ छ।

साथै पोषण बगैँचाद्वारा किसानहरूको पारिवारिक पोषण सुधार र आय आर्जन सुधारमा टेवा पुर्याएको वडा अध्यक्ष केशव बुढाले बताए। यस अनुगमन टिममा याक नेपालका अध्यक्ष बल बहादुर रोकाया, पोषण परियोजना संयोजक जगत प्रसाद उपाध्याय र उहाँको टिम सहभागी थिए।

यो परियोजना कैलालीका ५ स्थानीय तहमा लागू छ। भजनी नगरपालिका वडा नं. ५ र ७ मा सीमान्तकृत समुदायका २५ वटा आमा समूह छनोट गरी समूहमा ५ सय सदस्य रहेको र विशेष गरी १००० दिने आमा, सीमान्तकृत समुदायका आमाहरूलाई समेटिएको याक नेपालका कर्मचारी कृष्ण बोहराले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *