साझा अक्षर

दुर्गम गाउँदेखि भारतको सर्वोच्च अदालतसम्म : खेमराज बुढाको प्रेरणादायक यात्रा

भजनी,३०चैत

वि.सं. २०३६ सालमा सुदूरपश्चिम नेपालको अति दुर्गम अछाम जिल्लाको मेल्लेख गाउँपालिका वडा नं. ३, ठाँटि दर्बामा जन्मिएका खेमराज बुढा हाल भारतको सर्वोच्च अदालतमा कार्यरत छन्। उनी सगुने बुढा र तुलिदेवी बुढाका पाँच सन्तानमध्ये जेठा सन्तान हुन्। हाल उनी भजनी नगरपालिका वडा नं. २, कटानपुरलाई आफ्नो स्थायी ठेगाना बनाएका छन्।

खेमराजले प्रारम्भिक शिक्षा मेल्लेखकै पिपलसैन माध्यमिक विद्यालयमा कक्षा ७ सम्म पुरा गरे। पारिवारिक जिम्मेवारीका कारण वि.सं. २०५६ सालतिर पढाइ बीचमै छोड्नु पर्‍यो। १९ वर्षको उमेरमै रोजगारको खोजीमा भारत हानिएका खेमराजको संघर्षमय यात्राको सुरुवात त्यहीँबाट भयो। भारत पुगेपछि उनले अनेकौं कठिनाइको सामना गर्दै जीवनको बाटो पहिल्याउँदै गए।

वि.सं. २०५९ सालमा हरियाणाको सेक्टर २९ स्थित प्रहरी चौकी प्रमुख जितेन्द्र राणासँग उनको सम्पर्क भयो। यसै माध्यमबाट उनले भारत सरकारको सुरक्षाक्षेत्रमा सेवा सुरु गरे। पछि वि.सं. २०६२ सालमा दिल्ली प्रहरीका आयुक्त कृष्ण कान्त पालसँग जोडिएर उनले आफ्नो सेवा क्षेत्र अझ सुदृढ बनाए। लामो समयको समर्पण, इमानदारिता र निरन्तर योगदानको परिणामस्वरूप भारत सरकारले उनलाई वि.सं. २०७५ सालको फागुन २६ गते सर्वोच्च अदालतमा पदस्थापन गर्यो। त्यसबेलाका ५३औं न्यायाधीश सूर्य कान्तसँग मिलेर उनले भारतको सर्वोच्च अदालतमा सेवा गर्न थाले।खेमराज बुढा हालसम्म विगत ६ वर्षदेखि भारतको सर्वोच्च अदालतमा कार्यरत छन्। उनको उत्कृष्ट सेवाका लागि भारत सरकारले उनलाई माघ २३ गते राष्ट्रपति भवन, नयाँ दिल्लीमा आयोजित सर्वोच्च अदालतको ७५औं वार्षिकोत्सवको अवसरमा विशेष सम्मानसमेत प्रदान गरेको छ।

उनी केवल एक सफल कर्मचारी मात्र होइनन्, एक सहयोगी, संवेदनशील र समाजप्रति उत्तरदायी व्यक्ति पनि हुन्। खेमराजले विगत लामो समयदेखि समाजसेवी लक्ष्मी बोगटी कुँवरको माध्यमबाट विपन्न, दुःखी र असहाय नागरिकलाई सहयोग गर्दै आएका छन्। उनी भन्छन्, “संघर्षमै जीवन छ, आफै बाँच्ने मात्र होइन, अरूलाई पनि बाँच्न सहयोग गर्नु मानव धर्म हो।”उनको परिवारमा जम्मा ६ जना सदस्य छन्— श्रीमती, दुई छोराहरू, आमा, बुबा र उनी स्वयं। आमा–बुबा हाल भजनी नगरपालिका वडा नं. २ मा बसोबास गर्दै छन्। उनका जेठा छोरा लक्स बुढा जापान जानको तयारीमा काठमाडौँमा अध्ययनरत छन् भने उनी स्वयं हाल श्रीमती र कान्छो छोरासँग भारतको नयाँ दिल्लीमा बसोबास गरिरहेका छन्।खेमराज बुढाको जीवनयात्रा एक सामान्य गाउँले किशोरको अकल्पनीय संघर्षबाट सुरु भई भारतको सर्वोच्च न्यायालयको सेवा पदसम्म पुगेको उदाहरणीय प्रेरणा हो। उनीजस्ता व्यक्तिहरूले सीमित स्रोत साधन र अप्ठ्यारा परिस्थितिमा पनि लगन, परिश्रम र इमानदारिताले कसरी असम्भवलाई सम्भव बनाइन्छ भन्ने प्रमाणित गरेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
4
+1
0
+1
4
+1
0
+1
1
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *