साझा अक्षर

बोगटान सहजपुर सडक खण्ड समयमा खाल्डाखुल्डी नपुर्दा नहुँदा यात्रुहरूलाई सास्ती

दीपक संगम विक /डोटी – बोगटान सहजपुर सडक खण्डको निर्माण कार्य समयमा सम्पन्न नहुँदा स्थानीयवासी र यात्रुहरूलाई सास्ती भएको छ। सडकको अवस्था नाजुक भएका कारण यात्रा गर्न कठिन हुनुका साथै दैनिक जीवनयापनमा समस्या सिर्जना भएको छ।

 

निर्माणमा भइरहेको ढिलाइले सडकका कतिपय भागमा खाल्डाखुल्डी र हिलो जमेको छ। वर्षायाममा सडक जोखिमपूर्ण बन्ने र हिउँदमा धुलोका कारण स्थानीय जनजीवन प्रभावित हुने गरेको छ। सवारी साधन सञ्चालनमा समेत कठिनाइ भएपछि यात्रुहरूलाई अनावश्यक खर्च र समय बर्बाद गर्नुपरेको छ।

 

स्थानीय बासिन्दा रामबहादुर बमले भने, “सडक निर्माणको काम समयमै सम्पन्न नहुँदा हामीले दैनिक दुःख भोग्नु परेको छ। बिरामी लिएर अस्पताल लैजानु परे झन् गाह्रो हुन्छ।”

 

निर्माण कार्यको जिम्मा लिएका ठेकेदारले विभिन्न बहाना बनाउँदै काममा ढिलाइ गर्दै आएका छन्। सरकारी निकायबाट पनि अनुगमन नहुँदा समस्या अझै जटिल बनेको स्थानीयहरूको गुनासो छ।

 

सडक निर्माणका लागि समयमै आवश्यक बजेट व्यवस्थापन, निर्माण कार्यको प्रभावकारी अनुगमन, र जिम्मेवार निकायको सक्रियता आवश्यक रहेको स्थानीयवासीहरूको माग छ। यदि चाँडै निर्माण कार्य सम्पन्न गरिएन भने यसले स्थानीय जनजीवनलाई थप असर पुर्‍याउने निश्चित देखिन्छ।

भौतिक पूर्वाधार कार्यालय प्रमुख नवराज रावलका अनुसार कालोपत्रे बाहेकका सडकमा खाल्डाखुल्डी पर्नु र स्रोत साधनको अभावले मर्मत कार्यमा ढिलाइ भएको हो।

रावलले भने, “सडक मर्मतका लागि आवश्यक स्रोत साधनको अभाव छ। यद्यपि, खाल्डाखुल्डी सफा गर्ने र सडकलाई सञ्चालनयोग्य बनाउन केही काम भइरहेको छ। तर, पूर्ण मर्मतका लागि अझै केही समय लाग्नेछ।”

स्थानीयवासीले भने मर्मत कार्यमा हुने ढिलाइ र निकायको लापरबाहीप्रति असन्तोष व्यक्त गरेका छन्। यात्रुहरूले हिलो, धुलो र जोखिमपूर्ण सडकका कारण दैनिक यात्रा कठिन भएको बताएका छन्।

सम्बन्धित निकायले स्रोत साधनको व्यवस्थापन गर्दै सडक मर्मतको काम चाँडो सम्पन्न गर्न स्थानीयको माग छ। समयमा सुधार नगरे दुर्घटनाको जोखिम र यात्रुहरूको सास्ती अझै बढ्न सक्ने देखिन्छ।

बोगटान गाउँपालिका–१ का वडाध्यक्ष खेम घर्ती मगरका अनुसार, यात्रुहरूको समस्या पालिकालाई पटक–पटक जानकारी गराए पनि कुनै सुनुवाइ भएको छैन।

वडाध्यक्ष घर्ती मगरले भने, “यस सडकको स्थिति अत्यन्तै खराब छ। यात्रुहरूले जोखिम मोलेर यात्रा गर्नुपरेको छ। यो समस्या समाधानका लागि पालिकासँग बारम्बार आग्रह गरिसकिएको भए पनि कुनै पहल गरिएको छैन।”

वडिकेदार गाउँपालिका अध्यक्ष भैरव बहादुर साँउदका अनुसार, बोगटान सहजपुर सडक खण्डमा वर्षाका कारण आएको बाढी र पहिरोले सडक अवरुद्ध भएको थियो। उनले भने, “वर्षाको समयमा बाढी र पहिरोका कारण सडक धेरै स्थानमा अवरुद्ध भएका थिए, तर अहिले वडाका सबै सडकहरू मर्मत गरी खाल्डाखुल्डी पुरिसकेका छौँ।”

साँउदले “मुख्य सडकका खाल्डाखुल्डी पुर्न म हामी र सरोकारवालासँग समन्वय गरिरहेका छौँ।” उनले सडक मर्मतको कामलाई प्राथमिकता दिन लागेको र जिल्ला, प्रदेश तथा भौतिक पूर्वाधार मन्त्रालयसँग समन्वय गर्दै ठूलो जेसिवि प्रयोग गरेर छिट्टै मर्मत कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *