भजनी । कैलालीमा बाढी तथा डुबानको जोखिम बढ्दै गएपछि कैलाशपुर बाँधका ढोका तत्काल खोल्न भारतीय पक्षसमक्ष आग्रह गरिएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भारतको उत्तर प्रदेशस्थित लखिमपुर खिरी जिल्लाका जिल्ला मजिस्ट्रेटलाई पत्र पठाउँदै कैलाशपुर बाँधका ढोका यथाशीघ्र खोल्न आग्रह गरेका हुन्।
जिल्ला प्रशासन कार्यालय कैलालीले भारतीय पक्षलाई २०८३ असोज ९ गते (२५ सेप्टेम्बर २०२६) पठाएको पत्रमा पछिल्ला केही दिनदेखि सीमावर्ती क्षेत्रमा भइरहेको निरन्तर भारी वर्षाका कारण पानीको सतह तीव्र रूपमा बढिरहेको उल्लेख गरिएको छ।
पानीको बहाव र सतह बढ्दै जाँदा कैलालीका सीमावर्ती तथा तल्लो तटीय क्षेत्रमा खेतीयोग्य जमिन, बालीनाली, पशुधन, भौतिक संरचना तथा मानव जीवनमा समेत गम्भीर क्षति पुग्न सक्ने जोखिम रहेको प्रशासनले जनाएको छ। सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि सम्बन्धित भारतीय निकायसँग समन्वय गरी कैलाशपुर बाँधका ढोका तत्काल खोल्ने व्यवस्था मिलाउन आग्रह गरिएको हो।
भजनी नगरपालिकाका नगर प्रमुख केबल चौधरीको संयोजकत्वमा बसेको नगरस्तरीय विपद व्यवस्थापन समितिको २०८३ असोज ८ गतेको बैठकले भारतमा रहेको कैलाशपुर बाँधका कारण भजनी नगरपालिकामा हुने बाढी एवं डुवानजन्य विपदको दिर्घकालिन समाधानका लागि उक्त बाँध खोल्ने व्यवस्था मिलाउनका लागि जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेपश्चात भजनी नगरपालिकाले जिल्ला प्रशासन कार्यालय कैलालीलाई अनुरोध गरेपश्चात जिल्ला प्रशासन कार्यालयले भारतीय पक्षलाई पत्राचार गरेको हो ।
पछिल्लो मौसम पुर्वानुमान पश्चात विपद प्रतिकार्यको कार्यलाई तत्परताका साथ अगाडी बढाएको छ । नगरपालिकाले आवश्यक परेको खण्डमा आपतकालिन उद्धार केन्द्रहरुको जानकारी सार्वजनिक गर्नुका नियमित रुपमा अद्यावधिक सूचनायुक्त अडियो सन्देश (IVR) प्रसारणका गर्नुका साथै स्थानिय प्रहरी प्रशासन एवं सशस्त्र प्रहरी बलसंग समन्वय गर्दै विपद प्रतिकार्यका लागि आवश्यक सामग्री व्यवस्थापन समेत गरेको जानकारी दिएको छ । साथै भजनी नगरपालिकाले स्थानिय आपतकालिन विपद व्यवस्थापन केन्द्र (LEOC) २४ सै घण्टा खोल्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय र भजनी नगरपालिकाको उक्त तत्परताले भजनी क्षेत्रमा हुनसक्ने सम्भावित क्षति न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
