भजनी (कैलाली) ।जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न भू-भागमा भारी वर्षाको पूर्वअनुमान गरेसँगै कैलालीको भजनी नगरपालिकाले विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि उच्च सतर्कता अपनाएको छ।
नगर प्रमुख एवं स्थानीय विपद् व्यवस्थापन समितिका संयोजक केवल चौधरीको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत भोज राज भट्टको सहभागिता तथा विपद् व्यवस्थापन शाखा प्रमुख एवं सदस्य सचिव विष्णु राज न्यौपानेको सहजीकरणमा स्थानीय विपद् व्यवस्थापन समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा बसेको आपत्कालीन बैठकले १२ बुँदे महत्त्वपूर्ण निर्णयहरू गरेको छ।
२४ सै घण्टा पूर्वसूचना र LEOC सञ्चालन
बैठकले स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्र (LEOC) र विपद् सम्पर्क व्यक्तिलाई २४ सै घण्टा क्रियाशील राख्ने निर्णय गरेको छ। मोहना, काँडा, कान्द्रा र पथरैया नदी तटीय क्षेत्र तथा होचा डुबान सम्भावित बस्तीहरूमा माइकिङ, स्थानीय एफ.एम. रेडियो, एसएमएस (SMS) र वडास्तरीय सञ्जालमार्फत पूर्वसूचना सन्देश (Early Warning) तत्काल सम्प्रेषण गरिने भएको छ।
तटबन्ध र बालुवा भरिएका बोराको तयारी
बाढीको पानी सहज रूपमा निकास हुन नसक्ने वा कटानको जोखिम रहेका स्थानहरूमा आपत्कालीन तटबन्धका लागि जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय धनगढीमा थप बोराका लागि पत्राचार गरिने भएको छ। साथै, नगरपालिका र वडाहरूमा मौजुदा रहेका खाली बोराहरूमा बालुवा/माटो भरी तयारी अवस्थामा राख्न र जोखिमयुक्त क्षेत्रहरूमा वडा/समुदायस्तरीय विपद् व्यवस्थापन समिति, भलमन्सा, टोल संयोजक तथा स्वयंसेवकहरू परिचालन गरिने निर्णय गरिएको छ।
धान बाली र पशुधनको सुरक्षाविपद्का बेला कृषि तथा पशुजन्य उपजको क्षति न्यूनीकरणका लागि काटिसकिएको धान बालीलाई यथाशीघ्र सुरक्षित सुख्खा स्थान, गोदाम वा घरभित्र भित्राउन कृषि विकास शाखा र सबै वडा कार्यालयहरूमार्फत व्यापक किसान सचेतना अभियान चलाइने भएको छ।खाद्यान्न र औषधीको पर्याप्त भण्डारण
सम्भावित खाद्य संकट र जलजन्य रोगको जोखिमलाई ध्यानमा राखी नेपाल रेडक्रस र विषयगत शाखाहरूको समन्वयमा तयारी खाद्यान्न, खानेपानी शुद्धीकरण चक्की (पियुष/एक्वाटाब्स), हाइजिन किट र अत्यावश्यक औषधिहरू सबै स्वास्थ्य संस्थाहरूमा भण्डारण गरिनेछ। विपद्को समयमा नसर्ने रोग (NCD) बाट प्रभावित व्यक्तिको स्वास्थ्य सेवा निरन्तरताका लागि ‘PEN-D’ प्याकेज समेत अनुमोदन गरिएको छ।
सुरक्षित आश्रयस्थल र आपत्कालीन नगद सहायता
बाढी तथा डुबानको उच्च जोखिममा रहेका बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती र पशुचौपायालाई सेफ हाउस, सामुदायिक भवन तथा विद्यालयमा स्थानान्तरण गरिनेछ।
यसैगरी, SAAN परियोजनामार्फत भजनीका सबै वडाका ‘क’ वर्गका अपाङ्गता भएका व्यक्तिहरू र अति जोखिममा रहेका वडा नं. ३, ४, ५, ७ र ८ का ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्ति तथा राजी परिवारहरूलाई पूर्वकार्य (Anticipatory Action) स्वरूप दिइने आपत्कालीन नगद सहायता (Cash Transfer) द्रुत मार्ग (Fast-track) बाट वितरण गर्न NDRRMA लाई पत्राचार गरिनेछ।कर्मचारी र जनप्रतिनिधिलाई खटिन निर्देशन
विपद् प्रतिकार्यलाई चुस्त बनाउन ९ वटै वडाका स्वास्थ्य संस्था प्रमुख, सम्बन्धित कर्मचारी तथा विषयगत क्षेत्रका संयोजक/सदस्यहरूलाई आ-आफ्नो कार्यक्षेत्रमा हरसमय तत्पर रहन निर्देशन दिइएको छ। पूर्वस्वीकृतिविना नगरपालिका बाहिर नजान र दैनिक स्थिति प्रतिवेदन LEOC मा पेश गर्नुपर्नेछ।
सिँचाइ आयोजना र कूटनीतिक पहल
असोज ९ देखि १२ गतेसम्म पथरैया नदीमा रानीजमरा कुलरिया सिँचाइ आयोजनाले निकासा गर्ने पानीले बाढी थप बढाउन सक्ने भएकाले सो पानी निकासा रोक्न आयोजनालाई अनुरोध गरिने भएको छ। राहत एवं सहायता वितरण कार्यलाई एकद्वार प्रणालीमार्फत LEOC र स्थानीय प्रहरी प्रशासनको समन्वयमा मात्र गरिनेछ।
साथै, सीमावर्ती भारतमा रहेको कैलासपुरी बाँधका कारण भजनीमा बर्सेनि हुने बाढी एवं डुबानको दीर्घकालीन समाधानका लागि सो बाँधका ढोकाहरू खोल्ने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत सङ्घीय सरकारलाई कूटनीतिक पहलका लागि अनुरोध गर्ने निर्णय बैठकले गरेको छ।
भारी वर्षाको पूर्वअनुमानपछि भजनीमा उच्च सतर्कता: विपद् टोली र LEOC चौबीसै घण्टा अलर्ट राख्ने निर्णय