Skip to main content

Bhajani Today

भजनीमा नेपाल रेडक्रस सोसाइटीद्वारा २३० जना लाभग्राहीलाई करेसाबारी सामग्री हस्तान्तरण

भजनीमा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाको आयोजना तथा ब्रिटिस रेडक्रसको आर्थिक सहयोगमा सञ्चालित जीविकोपार्जन र जैविक विविधताका लागि समुदायको सशक्तीकरण कार्यक्रम (ECOLAB) अन्तर्गत भजनी नगरपालिका वडा नं. ३ र ८ का २३० जना लाभग्राहीलाई करेसाबारी सम्बन्धी सामग्री हस्तान्तरण गरिएको छ ।कार्यक्रमअन्तर्गत भजनी नगरपालिका वडा नं. ८ का १०३ जना तथा वडा नं. ३ का १२७ जना गरी कुल २३० जना लाभग्राहीलाई विभिन्न करेसाबारी सामग्री प्रदान गरिएको हो।

वडा कार्यालयको प्राङ्गणमा आयोजित सामग्री हस्तान्तरण कार्यक्रम वडा नं. ८ का वडा अध्यक्ष पंकज चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका कार्यक्रम व्यवस्थापक उमेश ढुङ्गाना रहनुभएको थियो।

त्यसैगरी, कार्यक्रममा वडा नं. ३ का कार्यवाहक वडा अध्यक्ष शत्रुघन चौधरी, नेपाल रेडक्रस सोसाइटी भजनी उपशाखाका सभापति रामनारायण चौधरी, वडा नं. ८ का वडा सदस्यहरू कृष्णा चौधरी, लल्तु चौधरी र गंगाराम चौधरी तथा नेपाल रेडक्रस सोसाइटी भजनी उपशाखाका सदस्य खेमराज पाण्डे लगायतको उपस्थिति रहेको थियो।कार्यक्रमको उद्देश्यबारे ECOLAB परियोजनाका कार्यक्रम अधिकृत समीर अवस्थीले जानकारी गराउनुभएको थियो भने कार्यक्रमको सञ्चालन सामाजिक परिचालक जेनिथ शाहले गर्नुभएको थियो।

लाभग्राहीहरूलाई प्रतिव्यक्ति रु. १,१५० नगद सहयोगसहित १६ लिटर क्षमताको स्प्रे ट्याङ्की १ थान, २० मिटर गार्डेन पाइप, स्याग दाँते १ थान, ५० खण्ड भएको नर्सरी ट्रे ३ थान, १० लिटर क्षमताको हजारी १ थान, मोहनी पासो १ थान तथा ५ किलो गँड्यौला मल वितरण गरिएको थियो।स्थानीय स्तरमा जीविकोपार्जन सुधार गर्न तथा साना किसान एवं परिवारलाई आत्मनिर्भर बनाउन यस्ता करेसाबारी प्रवर्द्धन कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *